काठमाडौं - उपभोक्ताकै कारण खाना पकाउने ग्यासको अभाव भएको ग्यास उद्योगी र बिक्रेताले दाबी गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै संघले उपभोक्ताले आवश्यकता भन्दा धेरै सिलिण्डर भरेर राखेकाले खाना पकाउने ग्यास अभाव भएको दाबी गरेको छ।
कोरोनाको संक्रमणका कारण उपभोक्ताहरुमा त्रास बढ्न गई ग्यासको खपत, माग र आपूर्ति बढीरहेको भन्दै संघले उपभोक्तालाई धैर्यधारण गरि सामान्य रुपमा नै ग्यासको खपत गरी अनावश्यक माग नगर्न आग्रह गरेको हो।
त्यस्तै ग्यास उद्योगी तथा विक्रेताहरुलाई पनि घरमा खाली भएको सिलिन्डर बराबरको मात्र ग्यास दिन र नयाँ ग्यास नदिन आग्रह गरिएको छ।
नेपाल एलपी ग्यास उद्योगी संघका अध्यक्ष गोकुल भण्डारी र ग्यास विक्रेता महासंघ नेपालका अध्यक्ष महेश्वर कुमार श्रेष्ठले एलपी ग्यासजस्तै अत्यधिक प्रज्वलनशील पदार्थलाई आवश्यकता भन्दा बढी सञ्चय नगर्न पनि उपभोक्ताहरुमा आग्रह गरे। उनीहरुले आपूर्ति व्यवस्था सहज राख्न प्रतिवद्ध रहेको पनि जनाएका छन्।
