एजेन्सी– कोरोना भाइरस (कोभिड–१९) का कारण इन्डियन प्रिमियर लिग (आईपीएल) संकटमा परेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सरोकारवालाको बैठक बोलाएको छ। उसले लिगमा समावेश हुने आठ क्लबका प्रतिनिधिका साथ बैठक गरेको हो।
बैठकपछि बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले आईपीएलको सिजन छोटो हुने बताएका छन्। उनले भने, ‘पहिले नै टुर्नामेन्ट सुरु गर्न १५ दिन ढिलो भइसकेको छ। यस्तो अवस्थामा लिगलाई छोट्याउनै पर्छ। अहिले कति छोटो हुन्छ भन्ने तय भइसकेको छैन। हामी हरेक हप्ता हालतको समीक्षा गर्नेछौं र निर्णय लिनेछौं। हामी आईपीएल गराउन चाहन्छौं तर मानिसको सुरक्षा पनि हाम्रो प्राथमिकतामा छ।’
यसका साथै बीसीसीआईले सबै घरेलु प्रतियोगिता अनिस्चितकालका लागि स्थगित गरेको छ। कोरोनाका कारण सिनियर वुमेन्स वान डे नक आउट र वुमेन वान डे च्यालेन्जर टुर्नामेन्ट अस्थायी रुपमा रद्द गरिएको छ।