आइतबार, चैत ८, २०८२

फुटबलबाट पोखरालाई चिनाउँदै 'सहारा'

विसं २०५७ अघि पोखरामा खेलकुदका गतिविधि शून्य प्रायः थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गर्नेबाहेकका अन्य प्रतियोगिता नभएको अवस्थामा सहारा क्लबले पहिलोपटक जिल्लास्तरीय सहारा कप फुटबल आयोजना गर्‍यो।
 |  बिहीबार, फागुन २९, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २९, २०७६

पोखरा - विसं २०५७ अघि पोखरामा खेलकुदका गतिविधि शून्य प्रायः थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गर्नेबाहेकका अन्य प्रतियोगिता नभएको अवस्थामा सहारा क्लबले पहिलोपटक जिल्लास्तरीय सहारा कप फुटबल आयोजना गर्‍यो।

National life

सहारा कपको अर्को वर्ष राष्ट्रियस्तरको क्याराभान गोल्डकप फुटबल आयोजना गरियो। यो प्रतियोगिता निजीस्तरबाट आयोजना गरिएको पहिलो प्रतियोगिता थियो। क्याराभान गोल्डकपको नामबाट सुरु भएको प्रतियोगिता विसं २०५९ देखि आहा राराको नाममा अहिले १८औं संस्करणसम्म आइपुग्दा खेलाडी, प्रशिक्षक तथा खेलकर्मीले गर्व गर्ने मोफसलको प्रतिष्ठित गोल्डकप बनेको छ।

सहाराले प्रतियोगिताको सुरुवात गर्दादेखि देशमा चरम राजनीतिक द्वन्द्वको प्रतिकूल समयमासमेत प्रतियोगिता कुनै वर्ष नरोकी निरन्तर सञ्चालन गर्दै गर्विलो इतिहास कायम गर्न सफल भएको छ। निरन्तर आयोजना भएको प्रतियोगिताले फुटबल खेलका माध्यमबाट पोखरालाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत पुगेको छ भने पोखरा र सहारा खेलकुदमा अहिले पर्यायवाची बनेको छ।

‘खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौं’ भन्ने उद्देश्य बोकेको क्लबले बर्सेनि प्रतियोगितामार्फत नवप्रतिभावान् खेलाडीलाई खेल्ने वातावरण सिर्जना गर्दै खेलकुदका माध्यमबाट पोखरालाई चिनाउँदै आएको छ।

सहाराले प्रतियोगिताबाट बचत रकमबाट फुटबल एकेडेमी सञ्चालन गरेर राष्ट्रका लागि सक्षम खेलाडी उत्पादनसमेत गर्दै आएको छ। एकेडेमीमा देशका विभिन्न जिल्लाका आश्रित बालकले शिक्षादीक्षासँगै फुटबल प्रशिक्षण गर्ने गरेका छन्।

Laxmi sunrise bank
kumari

एकेडेमीको खर्च धान्ने प्रमुख स्रोत नै त्यही फुटबल प्रतियोगिता बनेको छ। एकेडेमी व्यवस्थित सञ्चालनका लागि स्वदेश तथा विदेशबाट सहयोग जुटाएर हालसम्म रु दुई करोडको अक्षयकोष खडा गरिएको छ। कोषमा रकम आउने क्रम अहिले पनि जारी रहेको बताइन्छ। पछिल्लो समय यहाँ विभिन्न खेल विधाका प्रतियोगिता नियमितजस्तो हुने गरेका छन्। फुटबलसँगै भलिबल, क्रिकेट, टेनिसका प्रतियोगिता सहरदेखि गाउँसम्म पुग्न थालेका छन्। खेलकुदको रौनक बढाउन र खेल विस्तारमा समेत गोल्डकपको योगदान छ।

राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ सहारा एकेडेमीका उत्पादन हुन्। राष्ट्रिय टोली तथा विभिन्न ‘ए’ डिभिजन क्लबमा सहाराका उत्पादन विष्णु गुरुङ, अजित भण्डारी, सुशील लामा, लक्ष्मण जिसीलगायत खेलाडीले स्थान बनाएका छन्। उनीहरूले देशका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले र नेपाललाई विश्वमा चिनाए। जारी १८औं संस्करणमा एकेडेमीका तेस्रो ब्याचका आधा दर्जन युवा खेलाडीले प्रतियोगितामा ‘डेब्यू’ गर्न सफलसमेत भए।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा सहाराले आफ्नै लगानी र मेहनतमा देश-विदेशबाट सहयोग जुटाई एकेडेमी सञ्चालन गरेर गर्व गर्न लायक कार्य गरेको बताउँछन्। “सहाराले खेल र त्यसमा पनि फुटबलको विकासमा उल्लेखनीय कार्य गरेको छ। खेलको विकास, विस्तार खेलाडी उत्पादनमा क्लबको महत्वपूर्ण योगदान छ”, मन्त्री विश्वकर्माले भने।

आगामी दिनमा सरकारका तर्फबाटसमेत सहारा एकेडेमीलाई वार्षिकरूपमा सहयोग गर्ने योजना रहेको उनले जानकारी दिए। अहिले पोखरा फुटबल रङ्गशालाको स्वरूप फेरिएको छ। बाँसको अस्थायी प्यारापिटमा बसेर खेल अवलोकन गर्नुपर्ने दर्शकको बाध्यता अन्त्य भएको छ। सुविधासम्पन्न प्यारापिट, शौचालयलगायतका पूर्वाधार बनेका छन्।

विगतमा मैदानमा चरिरहेका भैँसी धपाउँदै खेल सञ्चालन गरेको अवस्थामा हाल सुविधासम्पन्न मैदान र प्यारापिटमा खेल सञ्चालन गर्न पाउँदा आफूहरु हौसिएको सहाराका अध्यक्ष केशवबहादुर थापा बताउँछन्।

अस्थायी प्यारापिट र शौचालयको प्रबन्ध गरेर खेल सञ्चालन भएकामा अहिले कुनै पनि चुनौती नरहेको बताउँदै उनले १९ वर्षपछि सुविधासम्पन्न पूर्वाधारमा खेल सञ्चालन गर्न पाउँदा आफूहरुको सपना पूरा भएको उनको भनाइ छ।

राम्रो मैदान र प्यारापिट नहुँदा विदेशी स्तरीय क्लबलाई गोल्डकपमा सहभागिताका लागि प्रस्ताव गर्न नसकिएको अवस्थाको अन्त्य भएको र प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउँदै राम्रा क्लबलाई आमन्त्रण गर्ने वातावरण तयार भएको थापा बताउँछन्।

राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ सहाराको पहिलो ब्याचका खेलाडी हुन्। सहाराले उनीलगायत नवप्रतिभावान् खेलाडीलाई खेल कौशल प्रस्तुतिको अवसर सिर्जना गर्दै फुटबल खेलको विकासमा योगदान गरेको गुरुङले बताए। पोखराको मैदानमा खेल्दा छुट्टै जोस र ऊर्जा प्राप्त हुने खेलाडीहरु बताउँछन्। रासस

प्रकाशित: Mar 12, 2020| 09:04 बिहीबार, फागुन २९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।