इटहरी– काठमाडौंमा जन्मिएकी त्रिसा श्रेष्ठ २०६१ सालताका पोखरा पुगिन्। ग्राफिक डिजाइनर उनी पेसागत काममै पोखरा पुगेकी थिइन्।
महेन्द्र पुलनजिकैको ग्राफिक डिजाइन कम्पनीमा काम सुरु गरिन्। उनीसँग ग्राफिक डिजाइनका रंगीचंगी काम ठोकिन्थे।
यस्तै डिजाइनकै काम लिएर उनीकहाँ आउँथे राजेश बोम्जन।
नेपालको पहिलो दर्ता भएर सञ्चालन भएको प्याराग्लाइडिङ कम्पनी सनराइज प्याराग्लाइडिङका सञ्चालक बोम्जन निरन्तर आउँथे।
बोम्जनसँगै त्रिसाको दिल बस्योे। नेपालका प्रथम लाइसेन्सप्राप्त प्याराग्लाइडिङ पाइलट बोम्जनसँग १२ वर्षअगाडि बिहे गरिन् त्रिसाले।
बिहे गरेको तीन वर्षभित्रै त्रिसा बनिन् नेपालको पहिलो लाइसेन्सप्राप्त महिला प्याराग्लाइडिङ पाइलट।
तालिमबाटै अल्पसंख्यक
उनी पाइलट बन्न खोज्दा एक जना पनि महिला पाइलट थिएनन्। अरु त अरु उनको १५ दिने प्रारम्भिक चरणमा लिनुपर्ने ‘बिगिनर्स’ कोर्समा समेत उनीबाहेक एक जना पनि अन्य नेपाली महिला थिएनन्।
‘१३ वर्षअगाडि नोभेम्बरमा हामीले पोखराको फूलबारी रिसोर्ट नजिकैको मैदान, माटेपानी, तारेपानी क्षेत्रमा तालिम लियौँ’, त्रिसा भन्छिन्, ‘म मात्रै नेपाली थिएँ र मसँगै जर्मन डाटी नामकी साथी थिइन्।’
तालिमताका मात्रै नभएर पछिल्ला नयाँ ब्याचमा समेत महिला कम मात्रै आएको त्रिसा बताउँछिन्। ‘इच्छा नभएर हो कि वातावरण नभएर हो मैले सिकेको धेरै पछिसम्म महिला तालिममा आएनन्’, त्रिसा भन्छिन्, ‘महिलाको संख्या अहिले पनि त्यत्ति छैन। यसमा धेरैले आँट गरेका छैनन्।’
मासिक पचास हजार कमाइ
त्रिसाले पोखराबाहेक स्याङ्जामा पनि उडान गरेकी छन्। चार हजार चार सय मिटरमाथि मर्दी हिमाल नजिकैको आकाशमा पनि चराझैँ उडेकी छिन् उनी।
नेपाल मात्रै हैन, इन्डोनेसिया र श्रीलंकाको आकाशमा समेत उडेको अनुभव छ उनको।
आफ्नै इच्छाअनुसार उड्ने ‘सोलो’ उडान र प्यासेन्जरसँगै उडिने ‘टेन्डेम’ उडानको अनुभव छ त्रिसाको। उनीसँग उड्ने दर्जनौँ विदेशीले थुप्रै ब्लगमा सकारात्मक अनुभव लेखेर प्रचार गरेका छन्।
हालसम्म हजार हाराहारी उडान गरेको त्रिसा बताउँछिन्।
पोखरामा थरीथरीका पर्यटक आउँछन्। उनीहरुको उडान फरकफरक हुने त्रिसाको अनुभव छ। ‘नेपाली र भारतीय धेरै डराउँछन। चिनियाँ पनि डराउँछन्। अन्य देशका चाहिँ डर देखाउँदैनन्।’
प्याराग्लाइडिङमा महिला उपस्थिति कमजोर भए पनि आम्दानी भने राम्रो भएको त्रिसा बताउँछिन्। उनको मासिक कमाइ ५० हजार रुपैयाँ जति छ।
‘बल हैन परिश्रम र पैसा चाहिन्छ’
उनले सोलो उडान थालेको १३ र टेन्डेम उडान गरेको ५ वर्ष बित्यो।
सोलो उडानताका पाँच वर्षसम्म निरन्तर आकाशमै बिताइन्। सोलोमा अनुभवी भएपछि मात्रै उनले टेन्डेमतर्फ तालिम लिइन्। प्याराग्लाइडिङको व्यावसायिक पाइलट बन्न बल नचाहिने तर पैसा पर्याप्त चाहिने त्रिसा बताउँछिन्।
उनका अनुसार सबै काेर्स पूरा गर्न तीन वर्ष र २० लाख रुपैयाँ खर्च हुन्छ।
एक सन्तानकी आमा त्रिसा भन्छिन्, ‘स्वास्थ्यले साथ दिएमा म पचास वर्षसम्म उड्ने सोचमा छु।’