बिहीबार, भदौ ४, २०८३

जनकपुरमा ‘जोगिरा’ जोगाउने जमर्को

पछिल्लो समय आधुनिकताको प्रभाव बढ्दै गएपछि होलीमा ‘जोगिरा’ गाउने परम्परा लोप भइरहेको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

‘कोन ताल पर ढोलक बाजे,

कोन ताल मृदंग

कोन ताल पर गोरिया नाचे

कोन ताल पर हम

जोगिरा सर...र र र’

केही वर्षअघिसम्म होलीमा यस्तै लोक गीतहरु सुन्न पाइन्थ्यो। विभिन्न समूहहरुले ढोलक, मृदंग र डम्फा बजाएर यस्ता गीतहरु गाउँदा होलीको माहोल बन्थ्यो। टोल छिमेकका सबैले साथ दिन्थे। सबै नाचगान गर्दथे।

होलीमा गाइने यस्ता गीतहरु अहिले प्रायः हराईसकेका छन्।

होलीमा गाइने यस्ता गीतलाई तराई–मधेशमा ‘जोगिरा’ भनिन्छ। होलीमा गाइने ‘जोगिरा’ मा कथा–व्यथा, एक अर्काप्रति ठट्यौली तथा व्यङ्ग्यवाणसमेत हुने गर्दथ्यो। यस्ता लोक गीतहरुले होलीको मौलिकता देखाउँछ।

तर, पछिल्लो समय आधुनिकताको प्रभाव बढ्दै गएपछि होलीमा ‘जोगिरा’ गाउने परम्परा लोप भइरहेको छ। होलीमा ढोलक, डम्फा, मृदंगजस्ता वाद्ययन्त्रहरु बिरलै प्रयोग भएको पाइन्छ, अहिले। अधिकांश स्थानमा ठुल्ठुला डिजे, साउण्ड बक्समा हिन्दी र भोजपुरी भाषामा होलीको गीतहरु बज्ने गरेका छन्।

आधुनिकता हाबी हुनथालेपछि पारम्परिक होलीको मौलिकता नै अन्त्य भइरहेको जस्तो लागेको छ जनकपुरधाम–४ बस्ने रामबहादुर साहलाई। ‘ढोलक र डम्पाको आवाजबिनाको होली खल्लो भइरहेको छ, सहरमुखी होलीले मौलिकता हराउँदै गएकोे छ,’ रामबहादुर भन्छन्।

फागु एकअर्कालाई रंग र अबिर लगाउने पर्वमा मात्र सीमित नरहेको संस्कृतिविद्हरु बताउँछन्। माधुर्य र प्रेमभावको समेत व्याख्या गर्ने पर्वको रुपमा समेत फागुलाई लिइन्छ। पौराणिक फागुका गीतहरुले प्रेम, सद्भाव, वासना, वेदनालगायतको वर्णन रहेको संस्कृतिविद्हरुको भनाइ छ।
तर, यस्ता गीत तथा जोगिराहरु गाउन बन्द हुनथालेपछि पारम्परिक र पौराणिक होलीको महत्त्व पनि घट्दै गएको संस्कृतिका जानकार परमेश्वर कापडी बताउँछन्।

‘पहिले गाइने जोगिराहरुमा प्रेम र वेदना दुबैको वर्णन हुन्थ्यो, लोकभाकामा गाइने यस्ता गीत अहिले हराउँदै गएको छ,’ उनले थपे, ‘यस्ता लोकसंस्कृतिलाई संरक्षण गर्न जरुरी छ।’

‘मिथिलामे राम खेलए होली’ एक प्रकारको जोगिरा रहेको भन्दै कापडी भन्छन्, ‘होलीको जोगिराहरुमा भगवान राम–सीता र शिव–पार्वतीलाई समेत समेटेको हुन्छ, तर अहिले लोप हुँदै गएको छ, यस्ता पारम्परिक गीतहरु लोप हुनु राम्रो होइन।’

होलीको दिन समूह बनाएर जोगिरा गाउँदै गाउँमा सबैको घर पुग्ने पुरानो परम्परा सम्झन्छन् साहित्यकार एवं पत्रकार श्यामसुन्दर शशी।

‘होलीमा हामी समूह बनाएर जोगिरा गाउँदै टोल छिमेक सबैको घर पुगिन्थ्यो,’ उनले भने, ‘यसरी सबैको घर पुगेपछि ठूलाबडाबाट आशिर्वाद दिने गरिन्थ्यो, तर अहिले यो सब हराएको छ।’

तराई–मधेशमा फागुको अवसरमा गाइने यस्ता जोगिराहरुलाई जोगाउने जमर्को अहिले जनकपुरस्थित मिथिला नाट्यकला परिषद् (मिनाप) ले गर्दै आएको छ। मैथिली कला संस्कृति, साहित्य तथा नाट्य क्षेत्रमा विगत ४० वर्षदेखि काम गर्दै आएको मिनापले फागुको अवसरमा जोगिरा गायन प्रतियोगिता गराउने गरेको छ। मिनाप यस कार्यमा निरन्तर ११ वर्षदेखि जुटेको छ।

होली पर्वको दुई दिनअघि होरी महोत्सवअन्तर्गत जानकी मन्दिर प्राङ्गणमा आयोजना हुने जोगिरा गायन प्रतियोगितामा धनुषाबाहेक सप्तरी, महोत्तरीलगायतका जिल्लाबाट सहभागीहरु पुग्ने गरेका छन्।

जोगिरा गायन प्रतियोगिता चलिरहँदा दर्शकदीर्घामा बसेकाहरु आफूलाई नाच्न र झुम्नबाट रोक्न सकिरहेका हुँदैनन्। दर्शकदीर्घामा उमेर ढलिसकेका मात्र नभएर युवा पुस्ता पनि उल्लेख्य संख्यामा पुग्ने गरेका छन्।

आधुनिकताको जतिसुकै प्रभाव बढे पनि वृद्धदेखि युवाहरुको सहभागिताले अझैपनि जोगिराप्रतिको लगाबमा थोरै पनि कमी नआएको मिनापका पदाधिकारीहरुलाई लागेको छ। जोगिराको महत्त्व र लोकप्रियतामा कमी नआए पनि गाउने विस्तारै लोप हुने अवस्थामा पुगिरहेको मिनापका अध्यक्ष परमेश झा बताउँछन्।

‘अहिले पनि होलीमा मानिसहरु जोगिरा खोजिरहेका छन्, तर गाउनेकै कमी देखिएको छ,’ उनले भने, ‘वर्षमा एकपटक होलीमा गाइने यस्ता जोगिरा र जोगिरा गायकहरुलाई जोगाउने जमर्कोस्वरुप हामीले गायन प्रतियोगिता आयोजना गर्ने गरेका छौँ।’ जोगिरा गायन प्रतियोगितामार्फत केही हदसम्म भए पनि परम्परागत मौलिक होलीलाई जोगाउन सकिने उनको विश्वास छ।

विगत ११ वर्षदेखि निरन्तर रुपमा चल्दै आइरहेको जोगिरा गायन प्रतियोगिताले गाउँघरमा लुकेर बसेका प्रतिभाहरुलाई बाहिर आउन ठूलो मद्दत गरेको मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकलाई लागेको छ।

‘विगतको तुलनामा पारम्परिक जोगिरा लोप हुँदै गइरहेको निश्चित हो, तर यसखाले प्रतियोगिताको माध्यमबाट जोगाउन सकिन्छ,’ मल्लिकले भने।

प्रकाशित: Mar 08, 2020| 11:52 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।