बिहीबार, भदौ ४, २०८३

राजमार्ग : एम्बुसमाथिको यात्रा

गलत इन्जिनियरिङ, ट्राफिक चिह्न अभाव, तीव्र गति र नियम मिच्ने प्रवृत्तिले राजमार्गको ओहोर–दोहोर एम्बुसमाथिको यात्रासरह बनेको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– गत आर्थिक वर्षमा देशभर भएका १९ हजार ९७३ सडक दुर्घटनामा २ हजार ७७९ जनाले ज्यान गुमाए। १० हजार ३६० जना घाइते भए।

चालु आवको माघसम्म १ हजार ३१२ जनाले सडक दुर्घटनामा ज्यान गुमाइसकेका छन्। प्रहरी तथ्यांकअनुसार सडक दुर्घटनाबाटै पछिल्ला ५ वर्षमा ११ हजार ७२४ जनाको ज्यान गएको छ।

गत वर्ष मात्रै २ हजार ६४५ यात्रुवाहक बस दुर्घटना भएका थिए।

विश्वभर ५ देखि ३० वर्ष उमेरसमूहको मृत्युको प्रमुख कारण सडक दुर्घटना नै हो। संसारमा १३ लाखभन्दा धेरै मानिसको मृत्यु कारण बनिरहेको छ सडक दुर्घटना।

दुर्घटनामा विश्वको कुल गार्हस्थ्य उत्पादनको ०.८ प्रतिशत क्षति हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को तथ्यांक छ।

डब्ल्यूएचओले सडक सुरक्षासम्बन्धी २०१८ मा गरेको विश्वव्यापी अध्ययनले बढी आय भएका तुलनामा कम आय भएका मुलुकमा सडक दुर्घटनाबाट हुने मृत्युदर तीन गुणा बढी भएको देखाएको छ।

विकासित देशहरूले सडक सुरक्षाका लागि अनेक उपाय गर्छन्। जसले गर्दा ती देशमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या कम हुँदै गएको छ।

सडक दुर्घटना कम हुने युरोपमा वार्षिक २ प्रतिशतका दरले सडक दुर्घटनामा कमी भइरहेको युरोपियन युनियनको ‘रोड सेफ्टी स्ट्याटस्टिक्स’ मा उल्लेख छ।

तर, हाम्रो अवस्था ठिक उल्टो छ । बढ्दो जनघनत्व र सवारीसाधनको संख्यासँगै दुर्घटना र त्यसबाट हुने मृत्युदर बढिरहेको छ। (हेर्नुहोस् तथ्यांक तल)

नेपालमा गत वर्ष दैनिक सरदर ८ जनाको सडक दुर्घटनामा ज्यान गएकाे थियाे।

लापरबाह चालक, जीर्ण सडक

सडक भयावह मृत्युको कारण किन बनिरहेको छ? ट्राफिक प्रहरी प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल दुर्घटनाको प्रमुख कारण चालकको लापरबाहीलाई मान्छन्।

“चालकले मोबाइल प्रयोग नगर्ने र नियन्त्रित गतिमा सवारीसाधन कुदाउने हो भने दुर्घटना आधा कम हुन्छ,” उनी भन्छन्।

ओभरलोड नगर्ने, जथाभाबी ओभरटेक नगर्ने, ट्राफिक नियम मान्ने लगायतका गतिविधि सबै चालकमै निर्भर रहने उनको भनाइ छ।

सडकको संरचना, पूर्वाधार अभाव र सवारीसाधनको अवस्था पनि दुर्घटनाको कारण भएको ढकाल बताउँछन्।

इन्जिनियर कमलराज पाण्डे भने सडक निर्माण गर्दा सुरक्षा चासोलाई बेवास्ता गरिएकाले दुर्घटना बढेको बताउँछन्।

“राज्यले सडक बनाउने र कर उठाउने मात्रै काम गर्‍यो,” उनी भन्छन्, “अनुपयुक्त सडक संरचना र प्रभावकारी अनुगमन नहुँदा दुर्घटना बढ्दै गएको हो ।”

सडक प्रयोगकर्ता, सवारीसाधन र सडकको अवस्था सडक सुरक्षासँग जोडिएका विषय हुन्। तर, हामीकहाँ यी तिनै विषय कमजोर छन्।

एकातिर सवारीधनीले आफ्ना सवारीसाधनकाे सर्भिसिङ र परीक्षण नियमित रूपमा गरेको पाइँदैन भने अर्कोतिर सर्भिसिङ र परीक्षण गर्ने अधिकांश मेकानिक्स पनि अनुभवहीन किशोर उमेरका हुन्छन्। त्यसमाथि नक्कली स्पेयर्स पाट्र्सको बिगबिगी उत्तिकै छ।

एउटै साधनमा ५०/६० जना यात्रु बोकेर हिँड्ने लामो दूरीका सार्वजनिक बसका चालकको मानसिक र शारीरिक अवस्था पनि कसैले विचार गर्दैन।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार झन्डै ९० प्रतिशत दुर्घटना चालकको लापरबाहीले हुने गरेको छ। बाँकी सडकको अवस्था, यान्त्रिक गडबडीलगायतका कारणले।

विभिन्न मुलुकमा सडकको क्षमता र अवस्था तथा सवारीसाधनअनुसार गति तोकिएको हुन्छ।

एउटै सडकमा पनि निजी कार तथा साना सवारीसाधनको तुलनामा यात्रुवाहक र ठूला सवारीसाधनको गति कम हुन्छ।

सहरी पूर्वाधार तथा यातायातसम्बन्धीे न्युज पोर्टल सिटिल्याब का अनुसार बेलायत, अस्ट्रेलिया, डेनमार्कका सहरी क्षेत्रमा ‘हेभी भेइकल’ (यात्रुवाहक बस र ठूला सवारी) को गति ४० देखि ५० किलोमिटर प्रतिघण्टा तोकिएको छ।

राजमार्ग र बस्ती नभएका क्षेत्रमा भने ८० देखि १०० किलोमिटर प्रतिघण्टासम्मको गति निर्धारण गरिएको छ।

तर, हामीकहाँ सवारीसाधनको गति निर्धारण मात्रै हैन, तीव्र गतिमा कुदाउनेलाई कारबाही गर्ने र गति मापन गर्ने स्रोतसाधन अत्यन्तै न्यून छ। भएकै साधन स्रोतको पनि प्रयोग गरेर नियमित अनुगमन भइरहेको पाइँदैन।

पूर्व ट्राफिक प्रहरी प्रमुख विज्ञानराज शर्मा तीव्र गति नै दुर्घटनाको प्रमुख कारण भएको बताउँछन्।

“खाली सडक देख्नेबित्तिकै कुदाइहाल्ने प्रवृत्ति र जीर्ण सडकले पनि दुर्घटना बढाएका छन्”, उनी भन्छन्, “लामो यात्रा र घुम्ती धेरै भएको साँघुरो सडक पनि दुर्घटनाका कारण हुन्।”

कारण अनेक

आमनागरिकसँग प्रत्यक्ष सरोकार भएको सार्वजनिक यातायात नेपालमा सेवामुखीभन्दा नाफामुखी बन्दै गएको छ।

सार्वजनिक यातायातमा यात्रुको सुरक्षा संवेदनशीलतालाई ध्यान दिएको पाइँदैन। नाफा बढाउने होडमा एउटै चालकले लामो दूरीसम्म चलाउने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका कारणले पनि सडक यातायातलाई जोखिमपूर्ण बनाइरहेको छ।

वर्तमान सरकार गठन भएलगत्तै यातायात व्यवसायीको सिन्डिकेट तोड्ने प्रयास गरे पनि त्यो केही दिनको होहल्लापछि त्यो सेलायोे। सार्वजनिक यातायातमा मनपरी र बेथिति कायमै छ ।

२२ देखि २५ टन क्षमताका लागि बनाइएको राजमार्गमा ४० टनभन्दा बढी भारका मालवाहक गाडी पनि गुडिरहँदा सडक संरचना दिगो हुन पाउँदैन।

दुर्घटनाबाट जोगाउन सडक किनारमा राख्नुपर्ने सुरक्षाका उपाय अवलम्बन गरिएको छैन। जथाभाबी गाडी रोक्ने र राजमार्गमै पार्किङ गर्ने क्रम निरन्तर छ ।

विशेषगरी यात्रुवाहक बसले यात्रु चढाउँदा/ओराल्दा तथा मालवाहक ट्रक रातको समयमा बाटोमै पार्क गरिएका घटना हाम्रा लागि नौला होइनन्।

राजमार्गमा सवारीसाधन चलाउने चालकले लाइटको उचित प्रयोग नगर्दा पनि दुर्घटनाको जोखिम बढ्छ। शर्मा भन्छन्, “साधन चलाउन जानेर मात्रै हुँदैन, साइड लाइट, लो र हाई बिमको सही प्रयोगले दुर्घटना कम गर्न सकिन्छ।”

सडक पूर्वाधार, ट्राफिक चिह्नको अभाव र अप्ठ्यारो भौगोलिक अवस्थाबीच तालमेल नमिल्नुले पनि दुर्घटनाको जोखिम बढेको छ।

भीडभाड, नियमको बेवास्ता र राजमार्ग वरपरका बाक्लो बस्ती पनि दुर्घटनाका कारण हुन्।

इन्जिनियर कमलराज पाण्डे गाउँगाउँमा सर्भे नै नगरी बनाइएका सडक, बाटो बन्नेबित्तिकै गुड्ने मालवाहक र यात्रुवाहक गाडी पनि दुर्घटनाको कारण भएको बताउँछन्।

त्यस्तै काठमाडौं उपत्यका र केही सहरी इलाकाबाहेक अन्य स्थानमा नियम नमान्नेलाई कारबाही भएको सुनिँदैन।

ठेला, साइकल र पशु पनि राजमार्गमै

हाम्रा राजमार्गमा गाडीमात्रै गुड्दैनन। पैदलयात्रु, साइकल, दुईपांग्रेदेखि ठेलागाडा र जनावरसमेतको बाटो त्यही नै हो।

सडक बन्नेवित्तिकै दुवैतर्फ घर बनाएर पसल थापिहाल्ने मात्र होइन सडक किनारमै पसल राख्ने प्रवृत्ति छ। विद्यालयसमेत राजमार्ग छेउमै देखिन्छन्।

त्यसैले कहिले बटुवाको ज्यान बचाउँदा सवारी साधन दुर्घटनामा परेको त कहिले सवारीसाधनले बटुवा किचेका खबर आइरहन्छन्।

दुर्घटना न्यूनीकरणका लागि सडकको बलियो इन्जिनियरिङसँगै कारबाही प्रक्रिया र जनचेतनालाई पनि दृढताका साथ अगाडि बढाउनुपर्ने इन्जिनियर पाण्डेको भनाइ छ।

सडकप्रति उत्तरदायी र जिम्मेवार निकाय नभएरै सडक अनुशासन पालना नभएको शर्माको भनाइ छ। उनी भन्छन्, “दुर्घटना न्यूनीकरण र सडक सुरक्षाको एउटै उपाय ‘ट्रान्सपोर्ट अथोरिटी’ तत्काल बनाउनु नै हो।”

 

प्रकाशित: Mar 08, 2020| 12:00 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।