काठमाडौं– यस वर्षको होली काठमाडौं उपत्यका र पहाडी जिल्लामा भोलि (सोमबार) र तराईका जिल्लामा पर्सी (मंगलबार) मनाइँदैछ। होलीलाई खासगरी रंगको पर्व मानिन्छ। तर, रंगसँगै पानी खेल्ने प्रवृत्ति पनि बढेको छ । विशेषगरी युवाहरु एकअर्कालाई रंगसँगै पानी छ्यापेर होली खेल्न मन पराउँछन्।
जाडो सकिएर गर्मी सुरु भइसकेको बेला उल्लासका साथ मनाइने होली यसपालि भने फिका हुने देखिएको छ। विश्वका करिब ८० देशमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालीहरुको चाड होली पनि प्रभावित हुने देखिएको छ।
मानिसहरु होली मनाउने ‘मुड’ मै छैनन्। विगतका वर्षमा मदिरा कम्पनीको प्रायोजनमा युवा लक्षित होली कार्यक्रम गर्नेहरु पनि यसपालि थन्किएका छन्। तारे होटलले होली कार्यक्रम राखेका छैनन्। स्कुल–कलेजले पनि यसपालि होली मनाएनन्।
कोरोनाको त्रासले बजारमा पनि चहलपहल घटेको छ। होली आउनु केही दिन अघिदेखि नै भीडभाड हुने न्यूरोड तथा असन क्षेत्रमा कम चहलपहल छ। पिचकारी, लोला बनाउने प्लास्टिक तथा अबिरको व्यापार यसपालि निराशाजनक रहेको व्यापारीले बताएका छन्। अन्य सामान किन्ने उपभोक्ता पनि घटेका छन्। पार्किङ पाउनै मुस्किल हुने न्युरोड, असन, पुतलीसडक, दरबारमार्ग क्षेत्रमा अहिले सहजै पार्किङ गर्न पाइन्छ।
त्यसो त सरकारले नै यसपालि समूहमा होली नमनाउनू भनेको छ। विगतका वर्षमा समूह–समूह भेला भएर रंग तथा पानी छ्यापी होली मनाउने गरिएको सन्दर्भ उल्लेख गर्दै सरकारले यसपटक कोरोना भाइरसको जोखिम भएकाले त्यसो नगर्न भनेको हो।
गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर विगतका वर्षमा जस्तो समूहमा भेला भई भीडभाड नगर्न आग्रह गरेको छ। लोला हान्ने, पानी फ्याँक्ने, शरीरमा रंग, अबिर दल्ने काम पनि जोखिमपूर्ण हुने भएकाले त्यसो नगर्न भनेको छ।
विभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहले पनि विगतका वर्षमा जस्तो होली नमनाउन आग्रह गरेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मानिसको भीडभाड हुने होलीलगायत कार्यक्रम नगर्न आग्रह गरेको छ। कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, ‘अर्को निर्णय नभएसम्मका लागि विभिन्न प्रकारका उत्सव, मेला, पर्व, ९होलीलगायत० का कार्यक्रमको आयोजना नगर्न र त्यस्ता सम्मेलन तथा कार्यक्रमहरुमा सहभागी नहुन समेत सबैमा अनुरोध छ ।’
नेपाल सरकारले यसअघि नै कोरोनाको संक्रमणबाट जोगिन सचेतना अपनाउनुका साथै भीडभाडमा नजान तथा भेला, सभा, सम्मेलन जस्ता कार्यक्रमहरु नगर्न अनुरोध गरिसकेको छ।
मोरङ, धनुषा, चितवन, काभ्रे, कास्की, नवलपरासी, सुर्खेत, कैलालीलगायतका जिप्रकाले समूहमा होली नमनाउन सूचना जारी गरिसकेका छन्।
उता, मिथिला नाट्य कला परिषद् ९मिनाप० जनकपुरले होली पर्वको अवसरमा कोरोना भाइरसको जोखिम विरुद्ध जनचेतनासहित होली पर्व मनाउने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न जनचेतनाका कार्यक्रम आयोजन गर्ने र अबिरको सट्टा फूल प्रयोग गरेर महामुर्ख सम्मेलन मनाउने तयारी आयोजकको छ।
परिषद्का अध्यक्ष परमेश झाले आइतबार डम्फावादन प्रतियोगिता, होली पर्वमाथि चर्चापरिचर्चा र होली गीत गायनमा उत्कृष्टलाई पुरस्कारसमेत प्रदान गरिने कार्यक्रम रहेको बताए।
त्यस्तै सोमबार होली गीत गायन, मिनापको हास्य शैलीमा व्यङ्ग्य शैलीमा नाटक प्रस्तुति, हाँस्य कविगोष्ठी, मुर्ख र महामुर्खको उपाधि वितरण गरिनेछ। स्थानीय प्रशासनले बढी भीडभाड नगर्न आग्रह गरेकाले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सुरक्षात्मक उपायसहित होली पर्व मनाउने उनले बताए।