काबुल - अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले अमेरिका-तालिबानबीच सम्पन्न नयाँ सम्झौताको प्रमुख अंशका रुपमा रहेको हजारौं तालिबानी विद्रोही बन्दीहरुलाई रिहा गर्ने निर्णय अफगान सरकारलाई अस्वीकार्य रहेको बताए छन्।
सम्झौतामा मुख्य रुपमा अमेरिकीसमेत सबै विदेशी सैनिक १४ महिनाभित्र स्वदेश फर्किने उल्लेख छ।
'पूर्ण युद्धविरामको अवस्था सिर्जना गर्न हिंसामा कमी आउनु पर्नेछ', काबुलमा आयोजित पत्रकार सम्मेलनमा घानीले भने, 'जनरल स्कट मिलरले तालिवानलाई यही गर्न सल्लाह दिनुभएको छ। यो अवस्थाले निरन्तरता पाउने अपेक्षा गरिएको छ।'
तर, शान्तिको मार्गमा गतिरोध ल्याउनसक्ने एउटा बुँदातर्फ ध्यानाकर्षण गर्दै घानीले सम्झौताका शर्तहरु निकै विवादस्पद रहेको बताए। सम्झौताको एउटा धारामा तालिबानले बन्धक बनाएका १ हजार सरकारी सैनिक र सरकारी कारागारमा थुनिएका करिब ५ हजार तालिबानी लडाकूलाई रिहा गर्नुपर्ने उल्लेख छ।
'पाँच हजार तालिबानी बन्दीलाई रिहा गर्ने प्रतिबद्धतामा अहिल्यै सहमत हुन सकिन्न' घानीले भने, 'यो अफगानिस्तानका जनताको अधिकार र आत्मनिर्णय हो। यस विषयलाई अन्तर-अफगान वार्ताको समयमा एक एजेन्डा बनाउनु पर्थ्यो र वार्तामा यसलाई पूर्व शर्तका रुपमा लिन सकिन्न।' उनले कुनै पनि बन्दी रिहाई गर्ने कुरा अमेरिकी अधिकारको विषय नभएको र यो अफगान सरकारको अधिकार क्षेत्रभित्रको कुरा भएको बताए।