काठमाडौं - चैत १ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग(इपिएल)का लागि भैरहवा ग्लाडिएटर्सले तीन विदेशी खेलाडीलाई टोलीमा अनुबन्ध गरेको छ। काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै उसले नयाँ खेलाडी भित्र्याएको जानकारी दिएको हो।
तीन खेलाडीमध्ये दुईजना श्रीलंकका राष्ट्रिय खेलाडी रहेका छन् भने एक जना ओमानका राष्ट्रिय टिमकै खेलाडी रहेका छन्। श्रीलंकाका खेलाडीमा अल राउन्डर जीवन मेन्डिस र लेफ्ट आर्म ब्याट्सम्यान मिन्डिला श्रीवर्दना रहेका छन्। त्यस्तै ओमानबाट लेफ्ट आम फास्ट बलर बिलाल खान रहेका छन्। विदेशबाट तीन खेलाडी भित्र्याएसँगै भैरहवा ग्लाडिएटर्सका प्रशिक्षक पुवुदु दासानायकेले टिम सन्तुलित भएको बताएका छन्।
‘धेरै सल्लाह गरेर हामीले खेलाडी भित्र्याएका हौं। राम्रा विदेशी खेलाडी, साथै पाँच राष्ट्रिय टिमका र केही स्थानीय खेलाडीको साथ भैरहवा टिम सन्तुलित टिम बनेको छ,’ सम्मेलनमा उनले भने, ‘यहाँका स्थानीय खेलाडी पनि ट्यालेन्ट हन्टबाट आएका हुन्।’
काठमाडौंमा रहेका खेलाडी भोलीबाट ट्रेनिङका लागि भैरहवा जाँदैछन्। उनीहरु फागुन ३० मा काठमाडौं फर्किने कार्यक्रम रहेको छ। त्यस्तै, विदेशबाट अनुबन्धित भएका खेलाडी पनि फागुन अन्तिममा टिममा जोडिने क्लबले जानकारी दिएको छ।
ट्रेनिङको समयमा नयाँ प्रतिभाहरुको अध्ययन गरिने प्रशिक्षक पुवुदुले बताए। ‘हामीसँग राम्रा खेलाडी त छँदै छन्। नयाँ खेलाडीलाई पनि जज गरिने छ। कुशल मल्ल पनि ट्यालेन्ट हन्टबाट आएका छन्। त्यस्तै नयाँ खेलाडी आउन सक्छन्, ’ उनले भने।
भैरहवा ग्लाडिएटर्सको कप्तानी नेपाली राष्ट्रिय टिमका खेलाडी शरद भेषवाकरले गरेका छन्।
मिलिन्डा श्रीवर्दना भैरहवाको लागि अनुबन्ध भएका अन्तिम विदेशी खेलाडी हुन। उनले श्रीलंकाको टिमबाट तीनै फर्म्याटका खेल खेलिसकेका छन्। उनले सन् २०१९ को एक दिवसीय विश्वकप खेलिसकेका छन्। बायाँ हाते ब्याट्सम्यान मिलिन्डा स्पिन बलिङ पनि गर्छन्। टी-२० बाहेक उनी ५ टेस्ट खेल, २७ एक दिवसीय पनि खेलिसकेका खेलाडी हुन्।
अर्का खेलाडी जीवन मेन्डिस क्रिकेट अलराउन्डर हुन्। उनले पनि राष्ट्रिय टिमबाट खेलिसकेका छन। सन् २०१२ र २०१५ को टी-२० विश्वकप खेलिसकेका छन्। उनले विदेशी क्लबहरु सिड्नी सिक्सर्स, दिल्ली क्यापिटल लगायतका क्लबबाट पनि खेलिसकेका छन्।
त्यस्तै, ओमानबाट भित्र्याइएका खेलाडी हुन बिलाल खान। उनी बायाँ हाते मध्यम बलर हुन। उनी सन् २०१५ यता ओमनको राष्ट्रिय टिममै छन्। भैरहवाले यसघि वेस्ट इन्डिजका अलराउन्डर ड्वेन स्मिथलाई अनुबन्धन गरेको जानकारी दिइसकेको छ।
ईपीएल चैत १ गतेबाट १५ गते चैतसम्म टीयू क्रिकेट मैदानमा हुने छ।