काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटनामा घाइते भएका नेकपा (माले) का महासचिव सीपी मैनालीलाई अस्पतालमा गएर भेटेका छन्। प्रधानमन्त्री ओलीले आज बिहान मैनाली उपचाररत ग्रान्डी अस्पताल पुगेर भेटेका हुन्।
प्रधानमन्त्री ओलीले मैनालीको स्वास्थ्य स्थितिबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए।
गत बिहीबार वीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवासमा महासचिव मैनाली सवार गाडी दुर्घटनामा परेको थियो।
गाडीमा मैनालीका छोरा, बुहारी, नाती र चालक समेत पाँच जना थिए। पाँचै जनालाई चोटपटक लागे पनि मैनाली र उनकी बुहारी बढी घाइते भएका थिए।
मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लागेको छ भने उनकी बुहारीको दुवै खुट्टा भाँचिएको छ। दुवैजनालाई हेलिकप्टरबाट काठमाडौं ल्याएर ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो।
झापाबाट काठमाडौंतर्फ जाँदै गरेको मैनाली सवार बा ७ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६८० नम्बरको पिकअपसँग ठोक्किएको थियो।