कतार- अफगानिस्तानमा शान्ति स्थापनाका लागि अमेरिका र तालिबानबीच शनिबार कतारमा ऐतिहासिक शान्ति समझौतामा हस्ताक्षर भएको छ।
यदि तालिबानले शान्ति समझौताको पालना गर्यो भने आगामी १४ महिनाभित्र अफगानिस्तानबाट आफ्नो सम्पूर्ण सैन्य शक्ति फिर्ता लैजाने अमेरिकाले बताएको छ।
सन् २००१ को सेप्टेम्बर ११ मा विश्वको आर्थिक केन्द्र अमेरिकाको न्युयोर्कस्थित जुम्ल्याहा टावरमा भएको आतंककारी हमलाका मुख्य योजनाकार अल कायदाका नेता ओसामा बिन लादेनलाई आश्रय, सहयोग र बचाउमा राज्य शक्ति प्रयोग गरेको आरोप लगाउँदै अमेरिकाले तालिबान शासन रहेको अफगानिस्तानमा हमला गरेको थियो।
त्यसको झण्डै १९ वर्षपछि शनिबार यो ऐतिहासिक शान्ति सम्झौता भएको छ।
अमेरिकी फौजले अफगानिस्तान छाडेसँगै तालिबानले पनि सशस्त्र संघर्ष छोड्ने विश्वास लिइएको छ। झण्डै उन्नाईस वर्ष लामो अफगान युद्धले अमेरिकी प्रशासन आजित भएको प्रष्टै देखिन्छ।
अन्यथा अमेरिका सामान्यतया आफ्ना कुनै विरोधीसँग सम्झौता गरिहाल्ने मुलुक पनि होइन। वास्तवमा, आफ्नो मुलुकभित्र विदेशी सैनिक भएका कारण तालिबानले घोर आपत्ती जनाइरहेको थियो।
अमेरिका–अफगानिस्तान सम्झौताको संयुक्त घोषणापत्र भनिएको छ, कि शनिबारको समझौतामा हस्ताक्षर भएको १३५ दिनभित्र शुरुआती चरणमा अमेरिका र उसका गठबन्धनमा रहेका सम्पूर्ण सहयोगी राष्ट्रले ८ हजार ६०० सैनिकलाई फिर्ता बोलाएपछि बाँकी रहेका अरु सैनिकलाई १४ महिनाभित्र सबै सैनिक फिर्ता लैजानेछ।
कतारको दोहामा शनिबार हस्ताक्षर हुँदै गर्दा ३० देशका विदेशमन्त्रीका अतिरिक्त अन्तर्राष्ट्रिय संगठनहरुका प्रतिनिधिहरु साक्षी रहेका थिए।
दुबै पक्षबीच १८ महिनाको लामो वार्ताको प्रकृयापछि यो सम्झौता सम्भव भएको हो। उक्त हस्ताक्षरका क्रममा अमेरिकी विदेशमन्त्री माइक पोम्पियो, अमेरिकी रक्षा मन्त्री मार्क एस्पर र नेटोका महासचिव जेन्स स्टोलटेनबर्ग उपस्थित भएका थिए।
* सच्याइएको