काठमाडौं– एसीसी इस्टर्न रिजन टी–२० प्रतियोगिताअन्तर्गत नेपाल र मलेसियाबीच खेल सुरु हुनुअघि अधिकांशको अनुमान थियो– नेपालले मलेसियाविरुद्ध सहजै जित हासिल गर्नेछ। यसको कारण थियो– मलेसियाभन्दा नेपाल वरीयता र हेड टु हेडका आधारमा अघि हुनु।
तर, नतिजा ठ्याक्कै उल्टो आयो। अर्थात्, नेपाल मलेसियासँग २२ रनले पराजित भयो। र, १० वर्षपछि मलेसियासँग हार व्यहोर्न बाध्य भयो।
एसीसी इस्टर्न रिजन टी–२० क्रिकेटमा नेपाल मलेसियासँग पराजित
मलेसियाले पछिल्लोपटक सन् २००९ मा नेपाललाई हराएको थियो । त्यसयता नेपालसँग लगातार पराजित भएको मलेसिया पछिल्लोपटक सन् २०१९ मा भएको टी–२० विश्वकप एसिया रिजन क्वालिफायरको फाइनलमा पराजित भएको थियो।
तुलनात्मकरूपमा कमजोर मानिएको मलेसियासँग नेपाल किन पराजित भयो त ? यसका केही कारण औंल्याइएको छ।
कुशल मल्लको ‘असफल’ प्रयोग
नेपाल मलेसियासँग पराजित हुनुको पहिलो कारण हो– कुशल मल्लको ‘असफल’ ओपनिङ प्रयोग।
यसो त नेपालका लागि जहिले पनि ‘ओपनिङ’ टाउको दुखाईको विषय बनेको छ। यही समस्या समाधान गर्न नेपालले हालै सम्पन्न ‘विश्वकप लिग क्रिकेट–२’मा राम्रो प्रदर्शन गरेका कुशल मल्ललाई प्रारम्भिक ब्याट्सम्यानका रूपमा मैदान उतार्याे। तर, उनी शून्य रनमै पेवेलियन फर्किए। जसका कारण पछि आउने ब्याट्सम्यानलाई दबाब भयो। र, १५५ रनको मध्यम लक्ष्य हासिल भएन।
ओभर कन्फिडेन्स
नेपाल मलेसियासँग पराजित हुनुको दोस्रो कारण हो– ‘ओभर कन्फिडेन्स’। मलेसियालाई कमजोर आँक्दा नेपाल हार व्यहोर्न बाध्य भयो।
प्रतियोगिताअघि प्रशिक्षक जगत टमटाको भनाइले पनि नेपाल ‘ओभर कन्फिडेन्ट’ रहेको पुष्टि गर्छ। उनले भनेका थिए, “हामी च्याम्पियन हौं। च्याम्पियनजस्तै खेल्ने हो।”
उसो त वरीयता र हेड टु हेडका आधारमा नेपाल मलेसियाभन्दा अघि थियो। टी–२० वरीयतामा नेपाल १२ औं स्थानमा रहँदा मलेसिया ३९ औं स्थानमा थियो।
हेड टु हेडका आधारमा पनि नेपाल नै बलियो छ। यसअघि यी दुई टिमबीच भएका ७ खेलमध्ये नेपालले ६ खेलमा बाजी मार्दा मलेसियाले १ खेलको नतिजा मात्रै आफ्नो पक्षमा पारेको थियो।
अपर्याप्त प्रशिक्षण
मलेसियासँगको हारको तेस्रो कारण हो– नेपाली टोलीको अपर्याप्त प्रशिक्षण। पर्याप्त प्रशिक्षणबिनै प्रतियोगितामा होमिएकाले नेपाल मलेसियासँग पराजित हुन पुग्यो। नेपाली खेलाडीले प्रतियोगिताका लागि जम्मा १२ दिन (फेब्रुअरी १५ बाट २६ सम्म) मात्रै प्रशिक्षण गरेका थिए।
प्रतियोगिताअघि ‘विश्वकप क्रिकेट लिग २’ अन्तर्गत त्रिकोणात्मक शृंखला खेल्नुपरेकाले नेपालले पर्याप्त प्रशिक्षण गर्न पाएन।
उता मलेसियाले भने तयारीका साथ प्रतियोगितामा सहभागी भएको थियो। उसले हालै सम्पन्न हङकङविरुद्धको टी–२० क्रिकेट शृंखला क्लिन स्विप गरेको थियो।
यस्तै, मुख्य प्रशिक्षक फेरिनु र नयाँ खेलाडीले अवसर पाउनुले पनि हार निम्त्याएको जानकारको बुझाइ छ। उनीहरूको भनाइमा खेलाडीको
मनोविज्ञानसँग घुलमिल हुन पर्याप्त समय नहुँदा खेलमा पराजित हुनुपरेको हो।
कमजोर फिल्डिङ
नेपाल मलेसियासँग पराजित हुनुमा कमजोर क्षेत्ररक्षण (फिल्डिङ) पनि चौथो कारण हो। नेपालले बाउन्ड्री रोक्न नसक्दा मलेसियालाई १५४ रनको लक्ष्य दियो।