बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सचिव कार्कीकी श्रीमती हत्याको रहस्य प्रहरीले खोल्न सकेन

सचिव कार्कीकी श्रीमती हत्याको रहस्य प्रहरीले खोल्न सकेन

मुना कार्कीको हत्या तथा घरेलु कामदार विजय चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान ९० प्रतिशत सकिए पनि हत्या र आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन् ।
 |  बिहीबार, फागुन १५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन १५, २०७६

काठमाडौं- पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती ४९ वर्षीय मुना कार्कीको हत्या तथा घरेलु कामदार २२ वर्षीय विजय चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान ९० प्रतिशत सकिएको प्रहरीले जनाएको छ।

तर, हत्या र आत्महत्याको कारण भने अझै खुल्न सकेको छैन् । महानगरीय प्रहरी परिसर ललितपुरले कार्कीको हत्या र चौधरीको आत्महत्यासम्बन्धी अनुसन्धान सुरु गरेको १७ दिन बितिसकेको छ।

गत २७ माघमा सानेपास्थित निजी निवासमा कार्कीको हत्या भएको थियो भने चौधरीले आत्महत्या गरेका थिए । घटना सम्बन्धमा प्रहरीले पाँचजनासँग बयान लिइसकेको छ।

घटनास्थलमा भेटिएको कार्की र चौधरीको मोवाइल फरेन्सिक परीक्षणका लागि प्रहरीले तत्कालै प्रयोगशालामा पठाएको थियो । तर, त्यसको प्रतिवेदन भने अझै प्राप्त भएको छैन।

परिसर प्रमुख एसएसपी टेकप्रसाद राईले हत्याको अनुसन्धान ९० प्रतिशत सकिएको, तर कारण भने अझै पत्ता लगाउन सक्ने अवस्था नभएको बताए।

उनले भने, ‘कार्की हत्या र चौधरी आत्महत्या सम्बन्धमा प्रहरीले सुरुको दिनबाटै अनुसन्धान थालेको हो । यसक्रममा पाँचजनासँग बयान लिइएको छ । सिसिक्यामेरा फुटेज अध्ययन भएको छ । हत्यामा चौधरी नै संलग्न भएकोमा द्विविधा रहेन । तर, कुन मनसायबाट प्रेरित भएर उनले हत्या गरे र किन आत्महत्या गरे भन्ने विषय अझै खुल्न सकेको छैन।’

प्रहरीका अनुसार कार्कीको घरका पार्टटाइम महिला कामदार, ड्राइभर, प्लम्बरसहित अन्य दुईजनासँग बयान लिएको छ। बयानका क्रममा ड्राइभर र प्लम्बरले हत्यामा संलग्न चौधरीको आनीबानीबारे धेरै जानकारी नभएको बताएका छन् भने महिला कामदारले भने चौधरी रिसाहा स्वभावको रहेको बयान दिएकी छिन्।

एसएसपी राईले भने, ‘अनुसन्धानका क्रममा पाँचजनासँग बयान लिइएको छ । उनीहरूसँग मृतक कार्की र चौधरीको आनीबानी तथा स्वभावबारे सोधपुछ भएको छ । तर, हत्याको कारण खुल्ने गरी उनीहरूबाट पनि केही ‘क्ल्यू’ आउन सकेको छैन । यद्यपि कोसिस जारी छ।’

प्रहरीले मृतक मुनाका श्रीमान् अर्जुन कार्की र आत्महत्या गरेका घरेलु कामदार विजयका बुबा जानकी चौधरीसँग पनि बयान लिने भएको छ।

प्रहरी निष्कर्ष

१६ दिनसम्मको अनुसन्धानपछि ४९ वर्षीय कार्कीको मृत्यु मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोधका कारण भएको निष्कर्षमा प्रहरी पुगेको छ।

पोस्टमार्टम रिपोर्टमा पनि यही देखिएको थियो । ललितपुर परिसरका अनुसार गत २७ माघको बिहान १०ः१० बजे विजयले नाइलनको डोरी प्रयोग गरी मुनाको घाँटी कसेका थिए । डोरीले कसेका कारण मुनाको मस्तिष्क र शरीरबीच रक्तसञ्चार हुन पाएन । अन्ततः सोही कारणबाट उनको मृत्यु भयो।

एसएसपी राईले भने, ‘मुनाको पोस्टमार्टम रिपोर्ट आएको छ । रिपोर्ट अध्ययन गर्दा मस्तिष्क र शरीरबीच रक्तसञ्चार अवरोध भएर उनको मृत्यु भएको देखियो । यस कार्यमा विजय चौधरी संलग्न रहेको तथ्य सिसिक्यामेरा फुटेजबाट पनि पुष्टि भएको छ ।’ घटनामा संलग्न विजयको भने झुन्डिएर मृत्यु भएको पोस्टमार्टम रिपोर्टमा उल्लेख छ। नयाँ पत्रिकाबाट

प्रकाशित: Feb 27, 2020| 08:36 बिहीबार, फागुन १५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।