काठमाडौं– चालू समयका फुटबलका सर्वाधिक चर्चित खेलाडी हुन्, क्रिस्टियानो रोनाल्डो र लियोनेल मेस्सी।
उनीहरूले विश्वमै फुटबल फ्यानको ध्यान आफूतिर तानिरहेका छन्। यी दुईमध्ये कुनै एकको मात्र चर्चा गर्दा आम खेलप्रेमीले फिक्का महसुस गर्न सक्छन्। तर, कति फ्यान भने यी दुई खेलाडीको तुलना रुचाउँदैनन्।
दुवै खेलाडीको आ–आफ्नै खेल्ने शैली छ। उनीहरू आफूमै प्रतिभाका खानी हुन्। तर, पनि आपसी प्रतिस्पर्धा खेलमा रहन्छ। त्यसैले उनीहरूबीचको तुलना विश्वमा कहिल्यै सकिँदैन।
हिजो (शनिबार) युरोपमा त्यस्तै सावित भयो। साँझ मेस्सीले तहल्का मच्चाए भने रातमा रोनाल्डोले। दुवैले आ–आफ्नो जीवनमा हजारको आँकडा पूरा गरे। रोनाल्डोले हजार खेल पूरा गर्दा मेस्सीले गोलमा हजारको आँकडा पूरा गरे।
रोनाल्डोको हजार खेल
रोनाल्डोले शनिबार राति स्पलसँग खेलेसँगै आफ्नो फुटबल करिअरको हजार खेल पुर्याए। उनको बाल करियरलाई गन्ती नगर्ने हो भने पनि उनले चार भिन्न युरोपियन क्लबबाट खेलिसकेका छन्।
स्पोर्टिङ एफसीबाट करिअर सुरु गरेका रोनाल्डोले त्यही क्लबमा ३३ खेल खेले। म्यान्चेस्टर युनाइटेडले उनलाई दुई सय ९२ खेलमा अवसर दिएको थियो।
रोनाल्डोले फुटबलमा सबैभन्दा लामो समय स्पेनिस महारथी क्लब रियल मड्रिडमा बिताए। जहाँ उनले नौं वर्षमा चार सय ३८ खेल खेलेका छन्।
क्लबको करिअरभन्दा बाहिर हेर्दा उनले पोर्चुगलको राष्ट्रिय खेलाडीका रूपमा पनि राम्रो प्रदर्शन गरेका छन्। राष्ट्रिय टोलीबाट एक सय ६४ खेल खेलेका रोनाल्डोले अघिल्लो सिजनको सुरुमा युभेन्ट्स छिर्दै लिगविजेतासमेत बने। उनले युभेन्ट्सबाटै हिजो राति आफ्नो जीवनको हजार खेल पूरा गरे।
इटालीको डेब्यू सिजनमै लिगविजेता भएका रोनाल्डोले युभेन्ट्सबाट ७३ खेल खेलिसकेका छन्।
संख्यात्मक रूपमा रोनाल्डोले ७२५ गोल गर्दा २२० असिस्ट गरेका छन्। हजार खेलको करिअरमा रोनाल्डो ९४५ गोलमा सिधा सहभागी बनेका छन्। यो संख्या पुर्याउन खेलाडीलाई ठूला चुनौती हुन्छ।
रोनाल्डोले हिजो अर्को कीर्तिमानमा पनि बराबरी गरे। लिगमा लगातार ११ खेलमा गोल गर्ने कीर्तिमानमा उनले बराबरी गरेका हुन्। यसअघि इटालियन लिगमा लगातार ११ खेलमा गोलको कीर्तिमान कायम थियो।
रोनाल्डोले खेलको ३९औं मिनेटमा जुवन कुवार्डोको क्रसमा गोल गर्दै ग्याब्रियल बतिस्तुताल र फेवियो क्वाग्लिअरेल्लाको रेकर्डसँग बराबरी गरे।
मेस्सी हजार गाेलमा सहभागी
रोनाल्डोको जस्तै मेस्सीको हजार पनि साहसिक छ। उनले हजार गोलमा सिधा सहभागिता बनाइसकेका छन्। गोल स्कोरिङ र एसिस्टको जोडले उनका करिअरमा हजार पुर्याएको हो।
हिजोको खेलमा मेस्सीले आइबरविरुद्ध चार गोल गरे। त्यो चार गोलका साथ अब सात सय गोल पुर्याउन उनले चार गोल गर्न बाँकी छ। अर्थात् ६९६ गोल मेस्सीले प्रतिस्पर्धीको पोस्टमा छिराइसकेका छन्।
उनी गोलकर्तारूपमा मात्रै होइन, गोल असिस्टका लागि पनि विश्वभर चिनिन्छन्। उनले ३०६ गोलका लागि असिस्ट गरिसकेका छन्। कूल ८५३ खेल खेलेका मेस्सीले ६९६ गोल र ३०६ असिस्ट गर्दा १००२ गोलमा सिधा सहभागिता जनाएका हुन्।
मेस्सीले बार्सिलानाबाट ६२२ गोल र २६१ असिस्ट गर्दा अर्जेन्टिनाको राष्ट्रिय टिमबाट ७० गोल र ४५ मा असिस्ट गरेका हुन्।
हजार गोलमा सहभागिताको उपलब्धि हासिल गर्न हिजोको खेलमा मेस्सीले दुई गोल वा एसिस्ट गर्नुपर्ने थियो। तर, उनले चार गोल गरिदिए। र, हजारभन्दा दुई धेरै गोलको भागिदार बने।