शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • वडा अधिवेशन नै नभएको प्रदेश-२ सभापतिको दौडमा निधि पक्षकै चार नेता

Siddartha premir insuranceSiddartha premir insurance

वडा अधिवेशन नै नभएको प्रदेश-२ सभापतिको दौडमा निधि पक्षकै चार नेता

प्रदेश २ मा कोही औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् भने कोही घोषणा नगरे पनि आन्तरिक रुपमा तयारीमा लागेका छन्।
 |  मंगलबार, भदौ २२, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, भदौ २२, २०७८

जनकपुर- देशको विभिन्‍न जिल्लामा वडाहरुको अधिवेशन सम्पन्‍न भएसँगै नेपाली कांग्रेसको १४औं महाधिवेशन औपचारिक रुपमै सुरु भइसकेको छ । यद्यपि प्रदेश २ को कुनै पनि जिल्लामा वडाको अधिवेशन हुन सकेको छैन। प्रदेश २ का जिल्लाहरुमा रहेको सक्रिय सदस्यतासम्बन्धी विवाद निर्क्योल नलागेकाले यहाँ वडासम्मको अधिवेशन सुरु हुन नसकेको हो ।  

triton college

प्रदेश २ को ८ वटै जिल्लामा क्रियाशील सदस्यतालाई लिएर विवाद छ। धनुषाको दुईवटा क्षेत्रमा क्रियाशील सदस्यतालाई लिएर विवाद रहेकाले वडाधिवेशन सुरु हुन नसकेको धनुषा सभापति महेशशंकर गिरीले बताए। उनले सदस्यता नविकरणसम्बन्धी कुनै किसिमको विवाद नरहेको जानकारी दिए। 'धनुषाको क्षेत्र नम्बर-२ र क्षेत्र नम्बर-३ मा नविकरण वा क्रियाशील सदस्यतालाई लिएर कुनै किसिमको विवाद छैन,' सभापति गिरिले भने, ‘क्षेत्र नम्बर १ र क्षेत्र नम्बर ४मा मात्रै विवाद छ ।’

उनले थपे, ‘क्षेत्रमा क्रियाशील सदस्यतासम्बन्धी फर्म भर्ने जिम्मा क्षेत्रीय सभापतिहरुलाई दिइएको थियो, क्षेत्रीय सभापतिहरुले केन्द्रीय सर्कुलर अनुसार फर्म नभरेकाले उजुरी परेर अहिले त्यहाँको विवाद केन्द्रीय छानबिन समितिले हेरिरहेको छ।’ दुबै क्षेत्रको विवाद समाधान भए लगत्तै धनुषामा पनि वडाधिवेशन छिट्टै सुरु हुने सभापति गिरिले बताए।

नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदीले क्रियाशील सदस्यतासम्बन्धी विवादको छिनोफानो हुन नसकेकोले अधिवेशन सुरु हुन नसकेको बताए। उनले केन्द्रबाट क्रियाशील सदस्यहरुको छिनोफानो गरि नामावली पठाए लगत्तै अधिवेशनको प्रक्रिया अगाडि बढाउने बताए।

प्रदेश २ को ८ वटै जिल्लामा यही २५-२६ गतेभित्र वडाधिवेशन हुने प्रदेश २ को भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका प्रदेश २ संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए। उनले प्रदेशभरको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्नका लागि प्रयास भइरहेको र चाँडै नै समाधान हुने विश्वास व्यक्त गरे।

Metro Mart
vianet

निधि नजिककै चार नेता प्रदेश सभापतिको अकांक्षी

कांग्रेसको महाधिवेशनलाई लिएर वडा वा केन्द्रमा मात्र नभइ क्षेत्र, नगर र प्रदेश तहमा समेत रस्साकस्सी चलिरहेको छ। कांग्रेसमा विभिन्‍न गुट-उपगुट रहेकाले सर्वसम्मत हुने सम्भावनासमेत न्यून छ । अन्य तहहरुमा कांग्रेसभित्र महाधिवेशन हुँदै आइरहेको थियो। तर यस पटक भने सबैको ध्यान प्रदेशमा विशेष केन्द्रित देखिन्छ। किनभने नेपाली कांग्रेसभित्र पहिलो पटक प्रदेशको नेतृत्वका लागि नेताहरु तयारी थालिसकेका छन्। प्रदेश २ मा कोही औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेर तयारी थालिसकेका छन् भने कोही घोषणा नगरे पनि आन्तरिक रुपमा तयारीमा लागेका छन्।

देशमा अन्य निकायहरुमा संघीयताको अभ्यास हुने क्रममा प्रादेशिक संरचना निर्माण भए पनि सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेसमा त्यो संरचना यो महाधिवेशनपछि मात्रै पूर्णता पाउने भएको छ। कांग्रेसको विधानअनुसार लगातार दुई कार्यकाल जिल्ला सभापति रहेका व्यक्ति तेस्रोपटक सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएकाले प्रदेश २ मा सभापतिका उम्मेदवारको संख्या बढी हुने देखिएको छ।

प्रदेश २ मा कांग्रेसको नेतृत्व सम्हाल्नका लागि सभापतिमा प्रदेश २ का भौतिक पूर्वाधार मन्त्री एवं कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्णा यादव अकांक्षी देखिएका छन्।

प्रदेश सभापतिका लागि अकांक्षी देखिएका ४ वटै नेतासँग जिल्ला हाँकेको अनुभव छ। र चारै जना नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि नजिकका मानिन्छन् । यद्यपि ४ जनामध्ये महोत्तरी जिल्ला सभापति महेन्द्र कुमार रायले मात्रै अहिलेसम्म औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

यद्यपि कांग्रेस प्रदेश २ संसदीय दलका नेता रामसरोज र रौतहटका जिल्ला सभापति कृष्णा यादवलेसमेत आफू प्रदेश सभापतिमा उम्मेदवारी दिने बताएका छन्। रौतहट सभापति कृष्णाले अहिले आफू जिल्लादेखि केन्द्रसम्मका साथीहरुसँगको छलफललाई तीव्रता दिएको र समर्थन लिने प्रयास गरिरहेको जानकारी दिए।

यता नेता रामसरोजले भने, ‘प्रदेशमा वडाधिवेशन सम्पन्‍न हुन दिनुस्, त्यसपछि औपचारिक रुपमै उम्मेदवारी घोषणा गरेर तयारी थाल्नेछु।’

रामसरोजसँग धनुषा जिल्लालाई हाँक्ने अनुभवका साथै संविधानसभामा धनुषाका जनताको प्रतिनिधित्व गरेको अनुभव छ। यसका साथै उनी अहिले प्रदेश सरकारमा मन्त्री छन् भने प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता हुन्। विद्यार्थी जीवनबाटै नेपाली कांग्रेसमा रहेर राजनीति गर्दै आएका उनीसँग राजनीतिको राम्रै अनुभव छ ।

महोत्तरी जिल्ला सभापति रहेका महेन्द्र राय चारपटक नेपाली कांग्रेसलाई जिल्लामा हाँकी सकेका छन् । वि.सं. २०२९ सालमा बहुदलीय व्यवस्थाका लागि नेपाली कांग्रेस अन्दोलन गरिरहेको बेला उनले नेपाली कांग्रेसका नेता सरोज कोइरालाको हातबाट भारतको मधुवनीमा नेपाली कांगे्रसको सदस्यता लिएका थिए । २०३५ सालमा उनी महोत्तरीको जिल्ला सदस्यमा चुनिएका थिए। २०५६ सालमा महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४बाट प्रतिनिधिसभा सदस्यमा चुनिएर उद्योग वाणिज्य तथा आपूर्ती सहायक मन्त्री बनेका थिए।

त्यस्तै २०४२ सालबाट नेपाली कांग्रेसमा लागेर अविचलित रुपमा रौतहट जिल्लाका सभापति कृष्णा यादवसमेत प्रदेश २ को सभापतिका लागि तयारी गरिरहेका छन्। कृष्णा समेत नेपाली कांग्रेसका उपसभापति निधि नजिकका नेता हुन्। उनले २-२ पटक नेपाली कांग्रसलाई रौतहट जिल्लाको नेतृत्व गरिसकेका छन्। २०६४ सालमा नेता कृष्णा रौतहटबाट संविधानसभा सदस्यका लागि चुनिएका थिए ।

जातीय फ्याक्टर चुनौती

नेपाली राजनीतिमा खास गरेर प्रदेश २ मा जातीय फ्याक्टरले विशेष महत्व राख्दै आएको छ। कांग्रेसको प्रदेशको नेतृत्व लिनका लागि अकांक्षी देखिएका चारवटै नेता यादव हुन्। हुन त अझै केही नेताहरु उम्मेदवारीको होडमा आउनसक्ने सम्भावना छ। यसले महाधिवेशनमा मतदाताहरुलाई प्रदेशको सभापति छनोट गर्न सकस हुने निश्चित छ।  

यसका साथै चारैजना निधि नजिकका नेता रहेकाले ले पनि कसलाई चुनाव गर्ने विषयमा थप चुनौती बढ्ने देखिएको हो। राष्ट्रिय महाधिवेशन अगावै प्रदेश अधिवेशन हुने भएकाले सभापतिको उम्मेदवार चयन गर्न नेता निधिका लागि सकस हुने भएको छ।

जिल्लाहरुमा समेत सकस

प्रदेश २ का जिल्लाहरु नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिको पकेट क्षेत्रको रुपमा मानिएका छन्। यद्यपि यही विषय उनका लागि चुनौती समेत रहेको छ। प्रदेश २ का जिल्लाहरुमा जिल्लाको नेतृत्व लिन चाहने अधिकांश नेता निधि नजिककै हुन्।

कांग्रेसको स्थापना कालदेखि नै पकेट क्षेत्रको रुपमा रहेको धनुषामा भने महाधिवेशनलाई लिएर चहलपहल बढी नै देखिएको छ ।

केन्द्रमा महाधिवेशनलाई लिएर दौडधुप देखिए जस्तै धनुषामा जिल्ला सभापतिका लागि आधा दर्जनभन्दा बढी नेता दौडधुपमा लागेका छन्। धनुषा कांग्रेस श्रोतका अनुसार जिल्ला सभापतिका लागि वर्तमान सभापति महेशशंकर गिरी, उपसभापति संतोष यादव, सचिव विशेश्वर यादव, प्रफुल्लराज घिमिरे, दिनेश प्रसैला, कुमरकान्त झा, योगेन्द्र पजियारलगायतका नेताहरु रहेका छन्। सभापतिका लागि तयारी गरिरहेका अधिकांश नेता देउवा पक्षकै छन्। पौडेल पक्षको दिनेश प्रसैलाको नाम सभापति पदका लागि चर्चामा रहे पनि खुलेर अहिलेसम्म अगाडि आउन सकेका छैनन्।

निधिको प्रभावका कारण धनुषामा पौडेल पक्ष कमजोर रहेकाले फेरि देउवा पक्षकै कुनै नेता जिल्ला सभापति बन्‍ने लगभग निश्चित छ। तर पछिल्लो पटकको अधिवेशनजस्तै सर्वसम्मत हुने वा चुनाव हुनेमा संशय देखिएको छ। पछिल्लो पटक गिरिलाई सर्वसम्मतले जिल्ला सभापतिको जिम्मेवारी दिइएको थियो। कतिपय नेताहरुका अनुसार गिरीलाई नै फेरि अवसर दिने आन्तरिक गृहकार्य समेत भइरहेको छ।

गिरीले एक कार्यकाल आफूले जिल्लाको नेतृत्व गसिकेकाले सभापति पदमा दाबी गर्नु आफ्नो अधिकार भएको बताउँदै आएका छन्।  आफू लामो समयदेखि पार्टी भित्र रहेर काम गरेकाले जिल्लाको नेतृत्व फेरि गर्नुपर्ने उनको दाबी छ। 

यता जिल्लाका उपसभापति संतोष यादवले आफू निर्विवाद रुपमा जिल्लाको सभापति पदको उम्मेदवार रहेको बताइरहेका छन्। पछिल्लो पटक नै आफूले सभापति पदका लागि उम्मेदवारी दर्ता गराए पनि अन्तिम समयमा आएर सर्वसम्मतिले गिरिलाई सभापति बनाइँदा आफू उपसभापति पदमा चित्त बुझाएको उनको भनाइ छ। हरेक व्यक्ति जीवनमा प्रमोशन खोज्छ, म उपसभापति भएर काम गर्दै आइरहेको छु, स्वभाविक रुपमा सभापति पदका लागि अधिकार बन्‍ने उपसभापति यादवको भनाइ छ । उनले दावी गर्दै भने, ‘पार्टी भित्र स्पष्ट गुटहरु रहे पनि मेरो नाममा विस्तारै सबैको एक स्वर बन्‍ने छ ।’ पार्टी भित्र जति गुट रहे पनि विस्तारै मेरो नाममा गुटले खासै महत्व नराख्‍ने उनले बताए।

यता आफू लामो समयदेखि पार्टी भित्र रहेर काम गरेकाले यस पटक आफूले समेत सभापति पदमा उम्मेदवारी दिने ईच्छा व्यक्त गरिरहेको नेता प्रफुल्लराज घिमिरे बताउँछन्। साथीहरुको सहयोग रह्यो भने आफू सभापति पदको जिम्मेवारी लिन तयार रहेको घिमिरेले बताए ।

त्यस्तै महोत्तरीमा समेत ६ भन्दा बढी नेताहरु अकांक्षी देखिएका छन् । 

महोत्तरी जिल्ला सभापतिका लागि वर्तमान जिल्ला कार्यसमितिका सचिव शम्भु पाठक, बजरंग नेपाली, नागेश्वर यादव, सुशिल यादव लगायतका नेताहरु अकांक्षी छन्। हुन त चार पटक जिल्लाको सभापति भएर अनुभव लिइसकेका महेन्द्र यादव इच्छुक देखिए पनि विधान अनुसार उनी यस पटक सभापतिको रेसबाट बाहिरिएका छन् । केन्द्रमा नेताहरु महाधिवेशनका लागि दौडधुप गरिरहेको भए पनि क्रियाशील सदस्यता वितरणमा महोत्तरीमा विवाद देखिएकाले जिल्ला अधिवेशनको खासै तयारी सुरु हुन सकेको छैन।

नेपाली कांग्रेस महोत्तरीका सभापति रायले जिल्लामा १२ हजार सक्रिय सदस्य रहेको र उनीहरुको नविकरणको कार्य अन्तिम चरणमा रहेको बताए। उनका अनुसार नयाँ सदस्यता वितरणको विवाद समेत समाधान गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले महोत्तरीको जलेश्वर नगरपालिकाका २ वटा वडा, मनरासिस्वा नगरपालिकाको २ वटा वडा र पिपरा गाउँपालिकामा सक्रिय सदस्यता वितरणमा विवाद रहेको बताए । उनका अनुसार केन्द्रले सक्रिय सदस्यहरुको नामावलीको टुंगो नलगाएका कारण यो विवाद देखिएको हो । ‘वडा बाट पालिका, पालिका बाट क्षेत्र हुँदै जिल्लाले नामावली केन्द्रमा पठाउनु पर्ने थियो तर त्यस्तो नभएकाले यी वडाहरुमा यस प्रकारको विवाद देखिएको छ,' पाठकले भने ।

नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको समयमा महोत्तरीमा कोइराला खेमा मजबुत हुने गरेको थियो। तर पछिल्लो केही वर्षमा उपसभापति विमलेन्द्र निधिको बढ्दो सक्रियताका कारण महोत्तरीमा देउवा पक्ष मजबुत देखिएको छ। महोत्तरीमा कांग्रेसको वर्तमान परस्थितिलाई हेर्ने हो भने क्षेत्र नम्बर ३ बाहेक सबै बाँकी ३ वटै क्षेत्रमा देउवा पक्ष सशक्त स्थितिमा छ।

यही स्थिति प्रदेश २ का अन्य जिल्लाहरुमा समेत देखिएको छ। 

प्रकाशित: Sep 07, 2021| 07:55 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।