अछाम - अछामको साँफेबगरमा प्रजातन्त्र दिवसको अवसर पारेर प्रथम प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। उक्त प्रतियोगिताको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडुले उद्घाटन गरे।
कार्यक्रममा बोल्दै बडुले राजनीतिमा नैतिकता र आचारसंहिता खस्किँदै गएको र यो गम्भीर चिन्ताको विषय भएको बताए। खेलकुदको नियम र आचारसंहिता राजनीतिमा पनि पालना हुनसके देश सम्वृद्ध हुने उनले बताए। उनले भने, 'खेलकुदमा राजनीति नभएर राजनीतिमा खेलकुद घुसे राजनीति सफा खेल हुने थियो। तर ठिक उल्टो भैरहेको छ।' खेलकुदमा राष्ट्रको ठूलो लगानी आवश्यक रहेको उनले बताए।
प्रतियोगितामा सहभागी हुन विभिन्न क्षेत्रबाट १० वटा टिम दर्ता भएको आयोजक गिरीजाप्रसाद कोइराला फाउण्डेसन अछामका अध्यक्ष यज्ञप्रसाद ढुंगानाले जानकारी दिए।
प्रतियोगितामा प्रथम हुनेले नगद ५ लाखसहित ट्रफी, मेडल तथा प्रमाणपत्र पाउने छन्। दोस्रो हुनेले नगद २ लाख ५० हजार र तेस्रो हुनेले १ लाख ५० हजार पाउने आयोजक संस्थाका सचिव कृष्ण कुँवरले जानकारी दिए। यस्तै सान्त्वना पुरस्कार ५० हजार प्रदान गरिने छ। खेल अवधिभर विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा यस क्षेत्रमा भलिवल खेलमा महत्वपुर्ण योगदान पुर्याएको भन्दै ९ जनालाई सम्मानित गरिएको थियो। सम्मानित हुनेमा साफेबगर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद शर्मा, खेलाडीहरु जगत कुँवर, मीन बुड्थापा, मीन बोहोरा, गंगा बोहोरा, एकेन्द्र शाह, बलिन्द्र शाह, हेमराज ढुंगाना र मदनमोहन स्वार (कोप्चे) मरणोपरान्त छन्।
