काठमाडौं- अमेरिकन आइडलमा नेपाली ठिटो दिवेश पोखरेल छनोट भएका छन् । अमेरिकन आइडलको मञ्चमा अडिसन दिन पुगेका उनी अघिल्लो चरणका लागि छनोट भएका हुन् ।
काठमाडौंमा जन्मिएका २१ वर्षीय दिवेशले अडिसनमा दुईवटा गीत गाएका थिए । सुरुमा बब डिलनको ‘द गर्ल फ्रम द नर्थ कन्ट्री’ गाएका थिए भने जर्जको आग्रहमा उनले क्रिडेन्स क्लियर वाटर रिभाइभलको ‘ह्याभ यु एभर सीन द रेन’ बोलको गीत आएका थिए ।
उनको प्रस्तुतीबाट खुसी भएका जर्ज गायक तथा गीतकार लियोनेल रिचीले उनलाई स्टेजमै गएर अँगालो हाल्दै बधाई दिएका थिए ।
अर्का निर्णायक लुक ब्रायनले उनलाई ‘अद्वितीय कलाकार’ बताउँदै अमेरिकन आइडलमा आएकोमा धन्यवाद दिएका छन् ।
केटी पेरीले उनलाई ‘रक स्टार’ को संज्ञा दिँदै उनलाई कार्यक्रममा देख्न पाउँदा निकै उत्साहित भएको बताएकी छिन् । उनलाई निर्णयकहरुले अघिल्लो चरणका लागि छनोट गरेका छन् ।
अडिसन अघि उनीबारे दिइएको परिचयात्मक भिडियोमा उनले आफू नेपाली भएको र त्यो आफ्ना लागि गौरवको विषय भएको बताएका छन् । भिडियोमा उनले नेपाललाई निकै सुन्दर देशको रुपमा पनि चिनाएका छन् ।
उनले भनेका छन्, ‘नेपालमा जताततै हिमाल, पहाड देख्न सकिन्छ । यहाँका सबै मानिस निकै मिलनसार हुनुहुन्छ । हो, यो निकै उत्कृष्ट स्थल हो ।’
नेपालमा प्लस टु पास गरेपछि आफू अमेरिका हानिएको पनि उनले बताए । अमेरिकालाई उनले अवसरहरुको महान् भूमि बताएका छन् ।
हेर्नुहाेस् पुरा भिडियाे