बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आफ्नै पार्टीका मन्त्रीलाई कालोमोसो दल्न गएका राजपा कार्यकर्ता पक्राउ

आफ्नै पार्टीका मन्त्रीलाई कालोमोसो दल्न गएका राजपा कार्यकर्ता पक्राउ

प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका राजपाका दर्जनभन्दा बढी कार्यकर्ता शनिबार पक्राउ परेका छन्।
 |  शनिबार, फागुन ३, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ३, २०७६

जनकपुरधाम– प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई कालोमोसो दल्न गएका राजपाका दर्जनभन्दा बढी कार्यकर्ता शनिबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनुषाको रमदैया भवाडीस्थित जानकी मेडिकल कलेज नजिकबाट दिनेश यादव, रोशन मिश्रलगायत छन्।

आफ्नै पार्टीका एक कार्यकर्तालाई अपशब्द प्रयोग गरेर अपमान गरेको भन्दै उनीहरू मन्त्री साहमाथि कालोमोसो दल्न गएका थिए।

मन्त्री साह खोपसम्बन्धी कार्यक्रममा सहभागी हुन मेडिकल कलेज पुग्ने जानकारी पाएपछि राजपा कार्यकर्ता त्यहाँ पुगेका थिए।

मन्त्री साहलाई कालोमोसो गर्ने योजना बनाएर नाराबाजी गरिरहेको राजपाका कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय, धनुषाबाट पुगेको प्रहरी टोलीले पक्राउ गरेको हो। युवाले कार्यक्रमस्थलमै मन्त्रीलाई घेरेपछि झण्डै एक घण्टा उनलाई अस्पतालमै बस्नुपरेको थियो। पछि प्रहरीले मन्त्री साहलाई सुरक्षित गन्तव्य स्थलतर्फ पुर्‍याएको छ।

यसकारण भयो घटना

आफ्नो अभिव्यक्तिका कारण प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साह पटक–पटक विवादमा मुछिने गरेका छन्।

यसअघि मन्त्री शाह पत्रकारलाई जुत्ताले हिर्काएर, मेयरलाई ‘पागल’ भनेर र शिक्षकलाई दलित भनेर विवादमा तानिएका थिए। पछिल्लो पटक भने पार्टीका एक कार्यकर्तामाथि अपमानजनक टिप्पणी गरेपछि उनी विवादमा मुछिएका हुन्।

राजपा अध्यक्ष मण्डल धनुषाका सदस्यसमेत रहेका ज्ञानेन्द्र झा ‘ज्ञानु’सँग औकातमा बस्न भनेपछि मन्त्री साह विवादमा परेका छन्। शुक्रबार धनुषा अध्यक्षमण्डलका सदस्य झा मन्त्री साहलाई भेट्न उनको निवास पुगेका थिए। र, आफूहरूको क्षेत्रमा समेत योजना दिन आग्रह गरेपछि मन्त्री साहले ‘योजना पाउने तपाईंको औकात नरहेको भनेको’ झाले बताए।

मन्त्री साह अधिकांश योजना सप्तरीको आफ्नो क्षेत्रमा दिने गरेको आरोप लगाउँदै झाले आफूहरूले आवश्यकता अनुसार समानुपातिकरूपमा योजना वितरण गर्न आग्रह मात्र गरेको बताए।

साहको यस्तो अभिव्यक्तिपछि झाले मन्त्रीलाई सार्वजनिक कार्यक्रममै कालोमोसो दल्ने चेतावनी दिएका छन्। झाले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘मेरो औकातको कुरा गर्ने मन्त्रीलाई हिम्मत भए सार्वजनिक कार्यक्रममा भाग लिएर देखाउन, त्यहीँ कालोमोसो दलिन्छ।’

सामान्य छलफलको क्रममा मन्त्री साहले औकात देखाउने कुरा गरेपछि आफूले यस्तो टिप्पणी गरेको बताउँदै झाले यस विषयमा पार्टीका शीर्ष नेतालाई समेत जानकारी गराइसकेको नेपाल समयलाई बताए।

‘प्रदेशसभा सदस्य जानकीरमण साहसँगै मन्त्री साहलाई भेट गर्न उनको निवास पुगेका थियौं,’ झाले भने, ‘हामीमार्फत समेत क्षेत्रमा केही योजना दिन उहाँलाई आग्रह ग¥यौं। त्यसपछि उहाँले योजना पाउने तपाईंको ‘ औकात’ छ र भनेर प्रश्न गर्नुभयो। एकजना मन्त्रीले बोल्ने यस्तो शैली अशोभनीय छ।’

‘मन्त्रीजस्तो सम्मानित पदमा बस्ने व्यक्तिलाई यस्तो अशालीन टिप्पणी गर्न सुहाउँदैन,’ झा भन्छन्, ‘औकातकै कुरा हो भने देखाउनै पर्छ। पार्टीले कारबाही गर्नुपरे मलाई कारबाही गरे हुन्छ।’

प्रकाशित: Feb 15, 2020| 13:06 शनिबार, फागुन ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।