काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आम निर्वाचनताका कम्युनिस्टको सरकार आयो भने हास्न त के रुन पनि पाइँदैन भनेर खुब प्रचार गरिएपनि वास्तविकता त्यस्तो नभएको बताएका छन्।
सरकारले दुई वर्ष पुरा गरेको अवसरका प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसलाई लक्षित गर्दै कम्युनिस्टलाई असफल बनाउन उक्त वाक्य खुब दोहोर्याइएको बताए। उनले भने, 'तर वास्तविकता त्यस्तो थिएन। लोकतन्त्र संकटमा परेको, अधिनायकवाद आउन लागेको भन्ने जस्तो कुराहरु पनि खुब बज्यो। कहिले कहाँ, कहिले कहाँ, कहिले माइतीघरमा, कहिले गुठी विधेयकको अवतारमा प्रकट भयो। पछिल्लो समय मिडिया विधेयकको नाममा पनि आयो। तर त्यो अघि बढेको छ। स्पष्टता आएको छ।'
प्रधानमन्त्री ओलीले विधेयक निर्माणका क्रममा उठेका र वहस गरिएका विषयलाई मन नपरेका सांसद, मन्त्री र सरकारको थाप्लोमा फ्याकेर अभिव्यक्ति स्वतन्त्रता धरापमा पर्यो, लोकतन्त्र सकियो भन्ने जस्ता अनुपयुक्त सन्देश प्रवाह गर्ने अन्तर्राष्ट्रियकरण गर्ने प्रवृत्तिले हाम्रो लोकतन्त्रको जग कसरी मजबुत होला भन्दै प्रश्न गरे। उनले प्रत्येक विषय सरकारका पक्ष वा विपक्षका कुरा नभएर प्रक्रिया र प्रणालीको कुरा भएको र यसकै लागि विधेयकहरु छलफल र परिमार्जनका लागि संसदमा प्रस्तुत हुने गरेको उनले बताए।