काठमाडौं - इङ्लिस क्लब म्यान्चेष्टर सिटीले आगामी दुई सिजन च्याम्पियन्स लिग फुटबल खेल्न नपाउने भएको छ।
युरोपेली फुटबल महासंघ (ईयूएफए) ले क्लब लाईसेन्सिङ र आर्थिक पारदर्शिता कायम नगरेको भन्दै सिटीलाई २ वर्षसम्म च्याम्पियन्स लिगमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो। यस्तै क्लबलाई ३ करोड युरो जरिवाना पनि गर्ने निर्णय महासंघले गरेको छ। महासंघको आर्थिक विभागले गरेको छानबिनमा सन् २०१२ देखि २०१६ सम्मको अवधिमा प्रायोजनसम्बन्धी आम्दानीमा क्लब दोषी पाइएको हो।
महासंघको यस्तो निर्णयले क्लब आश्चर्यचकित नभएको तर कानूनी उपचार खोज्ने प्रतिक्रिया सिटीले दिएको छ। निर्णयविरुद्ध सिटीले कोर्ट अफ आर्बिटेशन अफ स्पोर्ट्समा अपिल गर्न पाउनेछ।
सिटीले यसअघि पनि आर्थिक अनुशासन तथा पारदर्शीता पालना नगरेकोमा कारबाही भोगेको थियो।