काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बैठकमा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ।
राष्ट्रिय सभा सदस्य दुर्गाप्रसाद उपाध्यायको निधन भएपछि प्रधानमन्त्रीको आज हुने भनिएको सम्बोधन स्थगित भएको हो। सम्बोधन अब शनिबार बिहान ११ बजे हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
सरकारका कामबारे सदनलाई जानकारी दिन प्रधानमन्त्रीको सम्बोधन तय गरिएको थियो। ओली नेतृत्वको सरकारको फागुन ३ गते दुई वर्ष पूरा हुँदैछ।
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं १० निवासी उपाध्यायको ५० वर्षको उमेरमा आज बिहान निधन भएको थियो।
उपाध्याय नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन्। क्यान्सरबाट पीडित उपाध्यायलाई चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा उपचारपछि घर फर्काइएको थियो।
उपाध्यायको जन्म २०२६ सालमा भएको थियो। उपाध्यायका एक श्रीमती, तीन छोरा र दुई छोरी छन्। उपाध्यायको आजै अन्त्येष्टि गरिने बताइएको छ ।