पोखरा- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको बताएकी छन्। सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रबर्द्धन विषयमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो दाबी गरेकी हुन्।
'मुलुकमा सुशासन कायम गर्ने प्रभावकारी पाइला हो बालुवाटार प्रकरण। सरकारले अहिले प्रकृया अगाडि बढाएको छ,' मन्त्री अर्यालले भनिन्, 'यसबारेमा धेरैले निकै प्रश्न गरे। दुइपटक मैले संसदमा जवाफ दिएँ। अहिले बालुवाटारमाथिको एक्सन हुँदा केही उफ्रिरहेका छन्, किन?'
मन्त्री अर्यालले बालुवाटारको जग्गा सरकारी भएको र सरकारी नै बनाएर छाड्ने बताइन्। उनले भनिन्, 'सरकार सुशासन कायम गर्ने दिशामा छ। बालुवाटारको जग्गा सहकारी नै हो, सरकारी नै बनाइन्छ।'
बालुवाटारमात्र नभएर देशभरका सार्वजनिक जग्गा फिर्ता ल्याइने बताउँदै मन्त्री अर्यालले २६४ विघा सरकारी जग्गा कानुनी रुपमै फिर्ता गरिसकेको बताइन्।