काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र जनआन्दोलनको बलमा शान्ति प्रक्रिया हुँदै समाजवादको आधार निर्माणतर्फ मुलुक अघि बढेकाले अब जनयुद्धको नक्कल गरेर विद्रोह सम्भव नहुने बताएका छन्।
नेकपा केन्द्रीय कार्यालय धुम्रबाराहीमा ‘जनआन्दोलन र जनयुद्धका शहीदको स्मृतिमा आज आयोजित श्रद्धाञ्जलिसभा’मा अध्यक्ष दाहालले जनयुद्ध र विद्रोह एक ऐतिहासिक तथा विशिष्ट परिस्थितिमा जनताको आवश्यकता र नेतृत्वको सही विचारका आधारमा हुने भएकाले अब जनयुद्धको नक्कल हुन नसक्ने स्पष्ट गरेका हुन्।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई सङ्केत गर्दै उनले भने, “एकथरि साथीहरु फेरि विद्रोहतिर लाग्नुभएको छ, तर हामीले सबै परिस्थिति र विश्व अनुभवको समीक्षा गरेर शान्ति प्रक्रियामा आएर मौलिक तरिकाको जनवादी क्रान्तिमा सामेल भएका हौँ, जनयुद्धलाई निरन्तरता दिएको भए हामी पेरु वा श्रीलङ्काको विद्रोहजस्तै सकिने थियौँ, हामीले कम्युनिष्टहरुबीचको सहकार्यसहित बुर्जुवाको साथ लिएर गणतन्त्र स्थापना गरेका छौँ ।”