काठमाडौं– राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
२ वर्षे कार्यकालमा ओली सरकारले आफ्ना वाचाहरु पुरा नगरेको, बजेटको मध्यावधी समिक्षा गरिएको, कोरोनाबाट आतंकित नेपालीलाई चीनबाट ल्याउने तयारी भइरहेकोलगायतका विषयलाई आजका अखबारहरुले प्राथमिकताका साथ छापेका छन् ।
नयाँ पत्रिकाले भने चार हजार सुरक्षाकर्मी नै घरेलु कामदार शीर्षकमा मुख्य समाचार छापेको छ । राज्यको सुविधा पाउने सुरक्षाकर्मीहरु हाकिम र नेताहरुको भाँडा माझ्नेदेखि बारी खन्नेसम्मको काममा प्रयोग गरिएको समाचारमा उल्लेख छ ।
नयाँ पत्रिकाले लेखेको छ– नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनामा करिब चार हजारको संख्यामा सुरक्षाकर्मी घरेलु कामदारको रूपमा खटिएका छन् ।
कतिपय सुरक्षाको नाममा त केहीलाई सहयोगीकै रूपमा यसरी दुरुपयोग हुँदै आएको छ । कार्यालय सहयोगी तथा पिपाका नाममा भर्ना भएका कर्मचारी मात्र होइन सिपाही, हवल्दार तथा असइसम्मका सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट करिब १५–१५ सय उच्चपदस्थ व्यक्तिहरूको घरमा कार्यरत रहेको गृह मन्त्रालयको तथ्यांक छ । त्यस्तै नेपाली सेनाबाट करिब एक हजार कर्मचारी यसरी नेता तथा हाकिमका घरमा खटिएका छन् । उनीहरूलाई हटाउन पटक–पटक प्रयास हुँदा पनि गृह मन्त्रालय तथा सैनिक मुख्यालय सफल हुन सकेको छैन ।
घरेलु कामदार, चालक तथा अन्य सहयोगीका रुपमा प्रहरी दुरुपयोग सबैभन्दा धेरै सशस्त्र प्रहरी बलमा छ । पहिलेदेखि नै आईजिपीहरूले आफू निकट नेता मात्र होइन व्यापारीको घरमा समेत सहयोगी खटाउँदै आएका छन् । सशस्त्र प्रहरीका कतिपय कर्मचारी व्यापारीहरूको घरमा समेत कार्यरत छन् ।
नेपाली सेनामा प्रमुख सेनानी(लेफ्टीनेन्ट कर्णेल)सम्मका अधिकारीले घरमा एक सहयोगीको सुविधा पाउँदै आएका थिए । मंसिरदेखि प्रमुख सेनानीले पाउने सुविधा हटाएर महासेनानी(कर्णेल)सम्मले मात्र पाउने निर्णय गरिएको छ । कर्णेलसम्मले पाउँदा पनि एक हजार भन्दा धेरै सैनिक हाकिमका घरमा कामदार बन्न बाध्य छ ।
यस्तै नयाँ पत्रिकाले चीनबाट फर्किने नेपालीलाई १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा बस्न चीनस्थित नेपाली दुतावासले राखेको सर्तलाई पनि प्राथमिकताका साथ छापेको छ ।
आजको कान्तिपुर दैनिकले भने ओलीका २ वर्ष, पुरा भएनन् वाचाहरु शीर्षकमा मुख्य समाचार छापेको छ ।
वाम गठबन्धनको चुनावी घोषणापत्रमा दुई, पाँच र १० वर्षभित्र गर्ने कामका सूची थिए । तर, दुई वर्षमा ठूल्ठूला महत्वाकांक्षी योजनामा मात्र होइन, ससाना काममा समेत उत्साहजनक प्रगती नचएको कान्तिपुरले लेखेको छ ।
यस्तै कान्तिपुरले नेपाल ट्रस्टको नाममा रहेको १७३ रोपनी जग्गा शंकास्पद मोहीका नाममा बाँडेको खुलासा गरेको छ । डा बाबुराम भट्टराई नेतृत्वको तत्कालिन सरकारले यसरी ट्रस्टको जग्गा बाँडेको समाचारमा उल्लेख छ ।
आजको नागरिक दैनिक र अन्नपूर्ण पोस्ट्ले भने बजेटको मध्यावधी समिक्षालाई मुख्य समाचार बनाएका छन् । अन्नपूर्णले खर्च र राजस्व लक्ष्य घट्यो शीर्षकमा समाचार छापेको छ भने नागरिकले राजस्व र खर्चमा सरकार कमजोर शीर्षकमा खबर लेखेको छ ।
आजका पत्रपत्रिकाले नेपालले बुधबार अमेरिकालाई हराउँदै एकै खेलमा २ वटा किर्तिमान बनाएको विषयलाई पनि महत्वका साथ छापेका छन् ।