जनकपुरधाम– जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयमा नेपाल विद्यार्थी संघ (नेविसंघ) आवद्ध विद्यार्थीहरुले तालाबन्दी गरेका छन्। उनीहरुले विश्वविद्यालयका उपकुलपति र डीनको कार्यालयमा बुधबार तालाबन्दी गरेका हुन्।
विश्वविद्यालयले विद्यार्थी भर्ना प्रक्रियामा अनियमितता गरेकोले तालाबन्दी गरेको नेविसंघ धनुषाका पूर्वअध्यक्ष सुजीत मिश्रले बताए । विद्यार्थी भर्ना र छात्रवृत्ति वितरणमा विश्वविद्यालयले अनियमितताका साथै आर्थिक चलखेल गरेको मिश्रले आरोप लगाए ।
विश्वविद्यालयका डीन जुगेश्वर साहले विद्यार्थीहरुले तालाबन्दी गरेको भए पनि कारणबारे आफूहरुलाई कुनै जानकारी नरहेको बताए । विद्यार्थीका केही असन्तुष्टि भए छलफल गर्न सकिने उनले बताए।
राजर्षि जनक विश्वविद्यालय स्थापना भएको केही वर्ष भए पनि विभिन्न कारणले विवादमा पर्दै आएको छ ।