सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित गुम्बा गाउँमा भएको भाइरल संक्रमण कोरोना भाइरसको संक्रमणको नरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताएका छन्।
चापागाईंले केही बिरामी सामान्य उपचारपछि निको भइसकेको र त्यसस्थानमा कसैको पनि चीन आवतजावत नभएकाले कोरोना भाइरसको संक्रमण नभएको बताए।
उनका अनुसार गुम्बा गाउँमा देखापरेको भाइरल संक्रमणको उपचारका लागि गाउँपालिकाका स्वास्थ्य केन्द्रमा कार्यरत हेल्थ असिस्टेन्ट परिचालन गरिएको छ। बिरामीमध्ये केहीलाई सन्चोसमेत भएको जानकारी आफूले पाएको प्रमुख चापागाईले बताए।
यद्यपि, त्यहाँको भाइरल संक्रमणबारे जाँच गर्न टेकुस्थित सरुवा रोग महाशाखालाई अनुरोध गरेपछि महाशाखाले त्यसतर्फ चिकित्सकको टोली पठाउन लागेको उनले जानकारी दिए।
गाउँपालिका केन्द्र भएको स्थानबाट दुई घन्टा पैदल दूरीमा रहेको गुम्बा गाउँमा जलवीरेबाट स्वास्थ्यकर्मीको टोली लिएर गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठ पुगिसकेका छन्।
गाउँमा १५० जनामा रुघाखोकी र ज्वरो देखिएको, १० जनालाई निको भइसकेको र एक जना भने गम्भीर अवस्थामा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए।
सो स्थानमा तीन दिनदेखि रुखाखोकी र ज्वरोका बिरामीको संख्या एक्कासी बढेको थियो।
"आज बिहानसम्म २०१ जनाले बिरामी परेको भन्दै नाम दर्ता गराएका छन्। उनीहरूमध्ये १५० जनामा रुघाखोकी र ज्वरो देखिएको छ," अध्यक्ष श्रेष्ठले बताए।
रासस