काठमाडौं– चीनको वुहानमा फैलिएको कोरोना भाइरसजस्तै लक्षण देखिएपछि सिन्धुपाल्चोकको जुगल गाउँपालिका आत्तिएको छ। कोरोना संक्रमितको लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएपछि गाउँपालिकाले केन्द्र सरकार गुहारेको छ।
गाउँपालिकाले कोरोना हो कि होइन भनेर पहिचान गरिदिन आग्रह गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ मा कोरोनाको लक्षणसँग मिल्दोजुल्दो बिरामी भेटिएका हुन्। जुगल–३ को गुम्बाबस्तीमा रुघाखोकी र अत्यधिक ज्वरो आएका बिरामी थुप्रै छन्।
स्थानीय स्वास्थ्य चौकीको सम्पर्कमा पुगेका त्यस्ता बिरामीले औषधि सेवन गरे पनि निको भएको छैन। कतिपय संक्रमित भने स्वास्थ्य चौकी पनि गएका छैनन्।
गाउँपालिकाले मन्त्रालयलाई पत्र लेख्दै बिरामीको परीक्षण छिटै गरिदिन आग्रह गरेको छ। सिन्धुपाल्चोक चीनसँग सीमा जोडिएको जिल्ला हो। यसअघि चीनबाट संक्रमण फैलन सक्ने भन्दै जिल्लाकै तातोपानी नाका बन्द गरिएको थियो।