काठमाडौं- ‘१० वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो,’ इटहरी–१० का ३१ वर्षीय राजेश बानियाँले मंगलबार दिउँसो आफ्नो फेसबुक वालमा लेखेको स्टाटस हो यो।
आफ्नी प्रेमिकाको अर्कै केटासँग भएको इङ्गेजमेन्टको फोटोसहित राखेर बानियाँले अगाडि लेखेका छन्,‘केही छैन, आशा छ, तिमीले संसारका सबै खुसी पाउनेछौ। गुडबाइ इसु, आशा छ तिमीले मलाई माफ गर्नेछौ।’
प्रेममा धोका पाएको भन्दै सुनसरी बराहक्षेत्र-१ स्थित सप्तकोसी नदीमा हाम फालेर बानियाँ बेपत्ता भएका छन्। उनले मंगलबार दिउँसो पौने ५ बजेको समयमा नदीमा हामफालेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै इलाका प्रहरी कार्यालय रामपुर उदयपुरका प्रहरी निरीक्षक रामचन्द्र शाहले नेपाल समयलाई जानकारी दिए।
शाहका अनुसार बानियाँले हाम फालेको स्थान नजिकै को ३७ प ७ नम्बरको बुलेट मोटरसाइकल, एक जोर जुत्ता, मोटरसाइकलको ब्लुबुक र सवारी चालक अनुमतिपत्रको ट्रायल पास गरेको कागज फेला परेको छ।
‘आफूले माया गर्ने केटीले अर्कैसँग बिहे गर्न लागेकाले उनले आत्महत्या गरेको भन्ने सुनिएको छ,’ शाहले भने, ‘बानियाँको आफन्तसहित खोजतलास गर्दा भेटिएन।’ शाहका अनुसार सुनसरीतर्फबाट डुंगा चालकले र उदयपुरतर्फबाट एक महिलाले हाम फालेको देखेका हुन्।
राति भैसकेकाले खोज्न समस्या भएको र बुधबार बिहानैबाट खोजतलास गर्ने शाहले जानकारी दिए।