काठमाडौं– आठ भारतीय पर्यटकको निसासिएर मृत्यु भएको मकवानपुरको सिमभन्ज्याङस्थित एभरेष्ट पानोरामा रिसोर्टलाई तीन महिनाका लागि निलम्बन गरिएको छ।
रिसोर्ट सञ्चालनमा पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरी भेटिएको भन्दैसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रिसोर्टलाई तीन महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको हो।
निलम्बनमा परेसँगै पानोरामाले तीन महिनासम्म होटल, रिसोर्ट तथा बार सञ्चालन गर्न नपाउने पर्यटन विभागले जनाएको छ।
यही माघ ६ गते रिसोर्टमा बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै मृत्यु भएपछि पर्यटन विभागले छानबिन समिति गठन गरेको थियो ।
छानविन समितिको प्रतिवेदन अनुसार पर्यटन ऐन, २०३५ को दफा (१०) अनुसार तोकिएको स्तर वर्गीकरण नगराएको र रिसोर्ट सञ्चालनका क्रममा पर्याप्त सुरक्षात्मक तथा व्यवस्थापकीय कमजोरीसमेत देखिएकोले तीन महिनाका लागि निलम्बन गरिएको बिभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिए।
निलम्बन अवधिपश्चात होटलको वर्गीकरण तथा मापदण्ड र प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण र वातावरण प्रभाव मूल्यांकन सम्पन्न गराइ अनुमति लिएर मात्रै संचालन गर्न विभागले निर्देशन दिएको छ।