काठमाडौं– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सेवा अवधिको अन्तिम औपचारिक कार्यक्रममा बोल्दै आफूले प्रहरीको शीर उँचो पार्ने काममा कुनै पनि सम्झौता नगरेको दाबी गरेका छन्।
महानिरीक्षक खनालको पदावधि आजै (मंगलबार) सकिँदै छ।
संगठनको सुधार एवं आन्तरिक सुदृढिकरणको लागि निरन्तर काम गरेको चर्चा गर्दै खनालले प्रहरी अधिकृत तथा जवानहरुको मनोबल उच्च बनाउनका लागि आफूले महत्वपूर्ण काम गरेको बताए।
कानुन कार्यान्वयन गर्ने क्रममा कसैको प्रभाव र दबाबमा नपरी सबै प्रहरी कर्मचारीहरुले निष्ठापूर्वक इमानदारिताकासाथ जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाई थियो।
अवकाश पश्चात पनि आफू भ्रष्टाचार विरोधी कार्य तथा समाजको उन्नतिका लागि क्रियाशिल रहने खनालले प्रतिवद्धता जनाए। प्रहरी प्रधान कार्यालयले आजै उनको औपचारिक बिदाई गर्दैछ ।
सरकारले आजै नयाँ प्रहरी महानिरीक्षक चयन गर्ने छ। त्यसका लागि अहिले मन्त्रिपरिषद्को बैठक जारी छ।