काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सहकारी अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बाको रुपमा हो भन्ने सबैलाई जानकारी भएकोले गायत्री मन्त्र जसरी नजप्न सहकारीकर्मीहरुलाई आग्रह गरेकी छिन् ।
राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको दुई दिने उद्यमशीलता गोष्ठीमा बोल्दै मन्त्री अर्यालले भनिन्, ‘सधै सहकारीका नेताहरुले सहकारी अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बा भनेर जपिरहेको सुन्छु, के यो गायत्रीमन्त्र हो र सधै जप्न ? अब त प्रमाणित गर्ने बेला हो ।’
उनले सहकारीहरु अब उत्पादनसँग जोडिनु अनिवार्य रहेको बताउँदै सहकारीका उत्पादन अब निर्यातयोग्य पनि हुनुपर्ने धारणा राखिन् । उनले आगामी संसदको अधिवेशनमा नै सहकारी ऐन संसदमा पेश गरिने बताउँदै भनिन्, ‘सहकारीलाई उत्पादनसँग जोडिनका लागि के के ऐन नियम बाधक हो, सो सम्पूर्ण सच्याउन मन्त्रालय तयार रहेको छ तर उत्पादनमा सहकारी जोडिनु अनिवार्य छ ।’
उनले ऐन नियमहरु बनाउनु ठूलो कुरा नभई त्यसको कार्यान्वयनको विषय गम्भीर रहेको बताइन् । उनले अझै पनि सहकारीकर्मीहरुको मतऐक्यता नभएको बताउँदै स्पष्ट भिजन र मार्गदर्शन लिएर आउन आग्रह गरिरन् ।
कार्यक्रममा महासंघका निवर्तमान अध्यक्ष केशबप्रसाद बडालले सहकारी अभियानकर्मीहरुले एकमत भएर अगाडि बढ्नुपर्ने बताए । उनले बचत तथा ऋण सहकारी संघ (नेफस्कुन)का अध्यक्ष परितोष पौड्यालप्रति लक्षित गर्दै भने, ‘कतिपयले आफूले गर्दै आएको काम आफैले मात्र गर्नुपर्छ भनिरहेका छन्, त्यो सरासर गलत हो। ’।
उनको भनाइ सबै सहकारीले आफ्ना सदस्यसँग बचत तथा ऋणको कारोबार गर्न पाउनुपर्ने तर्फ लक्षित थियो । गोष्ठी भोलिसम्म चल्नेछ ।