काठमाडौं– संसद् सचिवालयमा कार्यरत रोशनी शाहीमाथि यौन दुर्व्यवहारको अभियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको छ। आइतबार पहिलो पटक पेशीमा चढेको महराविरुद्धको मुद्दामा सरकारी वकिलका तर्फबाट ५ जनाले बहस गरेका छन्।
अभियोगसँग सम्बन्धित प्रमाण संकलनको कार्य सकिएसँगै काठमाडौं जिल्ला अदालतमा मुख्य न्यायाधीश अम्बरराज पौडेलको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ सुरू भएको हो।
‘हेर्दाहेर्दै’मा राखिएको उक्त मुद्दाको अर्को पेशी फागुन ४ गते आइतबारका लागि तोकिएको जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठले जानकारी दिए।
जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालका अनुसार आइतबार जिल्ला न्यायाधीवक्ताहरु उमाकान्त पौडेल र शान्ति न्यौपाने, सह न्यायाधीवक्ताहरु हरि रेग्मी र चन्द्रकान्त खनाल तथा सहायक न्यायाधीवक्ता विनिता कपालीले बहस गरेका छन्।
महराका तर्फबाट बहस सकिएपछि उनीविरुद्ध लागेको अभियोग पुष्टि हुने वा नहुने निर्णय अदालतले सुनाउने छ। श्रेस्तेदार श्रेष्ठले सम्भवतः आइतबार नै मुद्दाको अन्तिम फैसला हुन सक्ने बताए।
उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसूरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय माग गरिएको छ।
तत्कालीन जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको हो। महराले गत असोज १२ गते शाहीको तीनकुनेस्थित कोठामा पुगेर जबरजस्ती करणी प्रयास गरेको आरोप लागेको छ।
उक्त आरोपपछि महराले असोज १४ गते सभामुख पदबाट राजीनामा दिएपछि १९ गते सभामुख निवासबाट पक्राउ परेका थिए। महरा हाल काठमाडौंको डिल्लीबजार कारागारमा थुनामा छन् ।
जिल्ला अदालतको पुर्पक्ष थुनामा पठाउने आदेशविरुद्ध महराले उच्च अदालत पाटनमा पुनरावेदन दिएपछि जिल्लाकै आदेश सदर गरेको थियो।
रोशनीले जिल्ला अदालत समक्ष बकपत्र गर्ने क्रममा जबरजस्ती करणी प्रयास नगरेको बयान दिएकी छिन्।
रोशनीले यौन दुर्व्यवहार नगरेको बयान दिए पनि उनले घटना भएकै दिन प्रहरीमा दिएको जाहेरी र अन्य ठोस प्रमाणका आधारमा मुद्दा कमजोर नहुने कतिपय कानुनविदको भनाइ छ।