काठमाडौं- चीनमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आतंकित भएका नेपालीलाई चीनकाे वुहानबाट शनिबार स्वदेश फर्काइने भएको छ।
वुहानमा रहेका नेपालीहरुलाई ढिलाेमा शनिबारसम्ममा स्वदेश फर्काउने तयारी भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले नेपाल समयलाई जानकारी दिए ।
उनका अनुसार सकेसम्म शुक्रबार नभए शनिबार वुहानमा रहेका १८० जना नेपालीलाई स्वदेश फर्काउने गरी प्रक्रिया अघि बढाइएको छ। त्यसका लागि परराष्ट्र मन्त्रालयले नेपालस्थित चिनियाँ दूतावासमार्फत चीन सरकारलाई पत्रसमेत पठाइसकेको छ ।
पराष्ट्रले चीन सरकारलाई पठाएको पत्रमा यही फेब्रुअरी १५ अर्थात् फागुन ३ (शनिबार) मा आफ्ना नागरिक उद्धार गर्न चाहेको उल्लेख छ ।
चीनबाट नेपाली ल्याउन नेपाल वायुसेवा निगमको वाइडबडी जहाजसमेत तयार राखिएको छ । एयरबस ३३०–२०० सिरिजको दुई सय ७४ सिटे जहाज चीनको वुहान पठाउने तयारी गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा चीनमा फसेका नेपालीलाई उद्धार गर्न आवश्यक सबै प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका थिए। त्यसपछि सोमबार नै परराष्ट्र, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन र रक्षा मन्त्रालयले आफ्नो जिम्मेवारी अनुसार सक्रियता देखाएका हुन् ।
चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ। कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ। सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ शैय्याको व्यवस्था गरेको छ ।
वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन्। उनीहरुले आफूलाई छिटो भन्दा छिटो उद्धार गरेर स्वदेश फर्काउन अपिल गर्दै आएका थिए ।