बुधबार, भदौ ३, २०८३

जाजरकोट अस्पताल डाक्टरबिहीन, भिडियो एक्सरे पनि ठप्प

जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन् ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

जाजरकोट- जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि आउने बिरामी यतिबेला उपचार नपाएर फर्कने गरेका छन् ।

उपचार नपाउँदा बिरामी हजारौँ खर्चेर जिल्ला बाहिर जान बाध्य छन् । अस्पतालमा कार्यरत डा निशा बुढामगर नहुँदा चार महिनादेखि दन्तसेवा ठप्प छ । बुढाबाहेक दन्तसेवामा अरु स्वास्थ्यकर्मी छैनन् । उनी सुत्केरी बिदामा बसेपछि सेवा नै ठप्प हुन पुगेको हो ।

सामान्य खालका शल्यक्रिया गर्ने, शल्यक्रियासहितको प्रसूति सेवा दिने भनेर गत वर्ष अस्पताल आएका एमडीजिपी डा महेश सिलवाल केही समयअघि जिल्ला छाडेर गएपछि शल्यक्रियाका सबै सेवा बन्द भएका छन् ।

स्वास्थ्य मन्त्रालयको छात्रवृत्ति कोटामा दुई वर्षका लागि करारमा नियुक्त भएर आएका डा सिलवाल एक वर्ष बिताएर फर्किएका हुन् । अस्पतालमा आवश्यक पूर्वाधार नभएको, बेहोस बनाउने एनेस्थेसिया स्वास्थ्यकर्मी नभएपछि दिक्क भएर आफू फर्किएको उनले बताए ।

सात विशेषज्ञ चिकित्सकसहित ६५ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा १८ स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । छात्रवृत्ति करार सेवामा कार्यरत मेडिकल अधिकृतले दुई वर्षअघिको अतिरिक्त सेवाको भत्ता नपाएपछि काम गर्न जाँगर मारेका छन् । छात्रवृत्ति करार सेवामा चार जना चिकित्सक कार्यरत छन् ।

लामो समयदेखि उहाँले काम गरेको अतिरिक्त भत्ता नपाएपछि भिडियो एक्सरे सेवा बन्द गरिदिएका छन् । ल्याव सेवामा पनि स्वास्थ्यकर्मी नहुँदा बन्द छ ।

अस्पताल विकास समितिबाट पाउनुपर्ने अतिरिक्त समय काम गरेको भत्ता नपाउँदासम्म विरोधस्वरुप आफूहरुले भिडियो एक्सरे सेवा नदिने निर्णय गरेको डा भूपेन्द्रप्रकाश मल्लले बताए । यसरी विस्तारै धेरै सेवा बन्द हुँदै गएपछि सेवाग्राही स्थानीयवासी मर्कामा परेका छन् ।

अस्पतालमा कार्यरत अति न्यून सङ्ख्याका स्वास्थ्यकर्मी पनि उपकरण पूर्वाधार र विशेषज्ञ ज्ञानको अभावले सामान्य जाँच गरेर औषधि दिने र सिफारिस गर्नेबाहेक अन्य सेवा प्रवाह गर्न सकिरहेका छैनन् ।

स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अस्पतालको सेवा अस्तव्यस्त भएको स्वीकार गरे । “विशेषज्ञ चिकित्सकको पदपूर्ति हुँदैन । अन्य स्वास्थ्यकर्मी पनि रित्तिँदै गएका छन् । नयाँ पदपूर्ति हुँदैन, कसरी सेवा प्रभावकारी बनाउने”, उनले भने, “करीब रु पाँच लाख चिकित्सकहरुले अतिरिक्त काम गरेकै दिन बाँकी छ । उनीहरुले भिडियो एक्सरे सेवा बन्द गरेर असन्तुष्टि जनाएका हुन् । कसरी समाधान गर्ने ?”

चार वर्षअघि १५ श्ययाबाट ५० श्यया बनाइएको जाजरकोट अस्पतालमा स्वास्थ्य सेवा व्यवस्थापक, बालरोग, स्त्रीरोग, बेहोस बनाउने, जनरल फिजिसियन, अर्थोपेडिक सर्जन र पेडियाट्रिसियन गरी सात विशेषज्ञ, तीन मेडिकल अधिकृत र आयुर्वेद चिकित्सकको दरबन्दी रिक्त छ ।

त्यस्तै फिजियोथेरापी सहायक, मेडिकल ल्याव टेक्नोलोजिस्ट, रेडियोग्राफी टेक्नोलोजिस्ट र स्वास्थ्य सहायक तीनै जना रिक्त रहेका छन् । स्टाफ नर्स आठमध्ये सात रिक्त छन् ।

पब्लिक हेल्थ नर्स, ल्याव टेक्निसियन, फार्मेसी सहायक, एनेस्थेसिया सहायक, ल्याव असिस्टेन्ट, र अहेव तीन जनाको दरबन्दीमा तीनै जना रिक्त रहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले बताए । उनले पदपूर्तिका लागि सम्बन्धित निकायमा पहल गरे पनि सुनुवाइ हुन नसकेको गुनासो गरे ।

अस्पतालमा भरपर्दो सेवाप्रवाह हुन नसकेपछि एक महिनाको अवधिमा एक जना पनि बिरामी भर्ना गरिएको छैन । फार्मेसीमा कतिपय अत्यावश्यक औषधिसमेत छैन । रासस

प्रकाशित: Feb 11, 2020| 09:02 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।