काठमाडौं– जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा आज शीर्ष चारका तीन टोलीले छुट्टाछुट्टै क्लबसँग प्रतिस्पर्धा गर्ने छन्।
पौने ९ बजे सुरु हुने पहिलो खेलमा शीर्षस्थानबाट सोमबार एक स्थान तल झरेको विभागीय टोली त्रिभुवन आर्मीले बिग्रेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्ने छ।
शीर्षस्थानको मछिन्द्रभन्दा दुई अंकले पछि रहेको आर्मीलाई आजको खेलमा जित निकाल्दै पुनः शीर्षमा फर्कने अवसर छ।
प्रतिस्पर्धी टिम ब्रिगेड ब्वाइज पनि पनि आर्मीलाई रोकेर आफू अघि बढ्ने दाउमा हुनेछ।
त्यस्तै, १२ बजे सुरु हुने दोस्रो खेलमा थ्री स्टार क्लबले न्युरोड टिम (एनआरटी)को सामना गर्ने छ। एनआरटी शीर्ष ६ मा उक्लन प्रतिस्पर्धामा हुने छ।
५ खेलमा जित र २ हारको सामना गरेको एनआरटी १५ अंकका साथ आठौं स्थानमा छ। प्रतिस्पर्धी थ्री स्टार ६ खेल जित्दै २ खेल बराबरी खलेर अंक तालिकाको चौथो स्थानमा छ। ऊ पनि आज जित निकाल्दै एक स्थान सुधार गर्ने दाउमा हुने छ।
दिउँसो साढे ३ बजे हुने आजको तेस्रो तथा अन्तिम खेलमा मनाङ मस्र्याङ्दीले विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्ने छ।
च्यासल युथ क्लबसँग पराजय भोगेसँगै उपाधि होडबाट टाडिएको मनाङ शीर्ष तीनको लागि प्रतिस्पर्धामा छ।
आजकै दोस्रो खेलबाट उसको तेस्रो स्थान खोसिने सम्भावना भएका कारण पनि मनाङ तयारीका साथ मैदान प्रवेश गर्ने छ। मनाङले ६ खेलमा जित र ४ बराबरी खलेर २२ अंक जोडेको छ।
त्यस्तै, छैटौं स्थानको पुलिस क्लब पनि शीर्ष ६ मा आफ्नो स्थान सुरक्षित बनाउने लक्ष्यका साथ मैदानमा होमिने छ।