बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गृहमन्त्रीका भाइ ‘संगठित अपराध’ मा, पुर्पक्षका लागि थुनामा राख्न आदेश

गृहमन्त्रीका भाइ ‘संगठित अपराध’ मा, पुर्पक्षका लागि थुनामा राख्न आदेश

गृहमन्त्री रामबहादुर थापाका भाइ नै संगठित अपराधमा लागेको पुष्टि भएकाे छ।
 |  मंगलबार, माघ २८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २८, २०७६

काठमाडौं– गृहमन्त्री रामबहादुर थापाका भाइ नै संगठित अपराधमा लागेको पुष्टि भएकाे छ।

‘फिरौती’ उठाउने गिरोहसँगको मिलोमतोमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगसहित गृहमन्त्रीका भाइ नरेशकुमार थापालगायतका व्यक्ति पक्राउ गरी मुद्दा चलाइएको थियो।

पाटन उच्च अदालतले गृहमन्त्री थापाका भाइ नरेशकुमारलाई थुनामा राख्न आदेश दिएको हो।

थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याएर उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले थापालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको हो।

काठमाडौं अदालतका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले उनलाई गत असोज १ मा १ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

थापासहितका ६ जनाले थुनामा रहेका विवादास्पद अभियुक्त समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीबाट रकम असुलेको अभियोग थियो।

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचन हत्याका एक अभियुक्त समीरमानसिंहले जेलबाटै चलाएको असुलीसँग जोडेर प्रहरीले पक्राउ गरेको थियो। गौचनको ०७४ असोज २३ मा राजधानीमा हत्या भएको थियो।

ठेकेदारहरूलाई धम्क्याएर पैसा मागेको उजुरी गृह मन्त्रालय हुँदै प्रहरीसम्म पुगेपछि प्रहरीको विशेष ब्युरोले पवन खड्का र सुरेन नगरकोटीलाई पक्राउ गरेपछि दुवैले थापालाई पोलेका थिए।

नख्खु कारागारमा राखिएका समीरमानसिंहले जेलभित्रैबाट फिरौती धन्दा चलाएपछि मुस्ताङ कारागार सारिएको थियो।

जिल्ला अदालतले अन्य पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाए पनि थापालाई न्यून धरौटीमा मुक्त गरेपछि हिरासतमै राखेर पुर्पक्ष गर्नुपर्ने मागसहित सरकारी वकिलको कार्यालय उच्च अदालत पुगेको हो।

जिल्लाले थापासँगै मुछिएका अन्य प्रतिवादी सुरेन नगरकोटी बलामी, विनोद लामा, सैलेश प्रजापति, पवन खड्का र वीरबल भट्टराईलाई मुद्दाको अन्तिम टुंगो नलागुन्जेल पुर्पक्षका लागि थुनामै राख्न भनेको थियो।

आदेशविरुद्ध ५ प्रतिवादी र थापालाई धरौटीमा छाड्ने आदेशविरुद्ध सरकारी वकीलको दोहोरो निवेदन परेको थियो।

थापालाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न भनिएको छ। यो आदेशसँगै अब थापा पनि अन्य अभियुक्तसँगै मुद्दाको किनारा नलागुन्जेलसम्म जेलमै रहने भएका छन्।

 

प्रकाशित: Feb 11, 2020| 07:29 मंगलबार, माघ २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।