काठमाडौं- तपाईँ सपिङ जाँदा कार्ड मार्फत् भुक्तानी गर्नुहुन्छ? यदि यसो गर्नुहुन्छ भने खुसीको खबर छ। मंगलबारदेखि तपाईँले तिरेको भ्याटकाे १० प्रतिशत तपाईँले आफ्नो खातामा तत्काल फिर्ता पाउनुहुनेछ।
सरकारले चालू आर्थिक वर्षको बजेट मार्फत् विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता गर्ने बताए पनि सो सम्बन्धी कार्यविधि नबन्दा अहिलेसम्म लागू हुन सकेको थिएन।
तर आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्तालाई मूल्य अभिवृद्धि कर फिर्ता दिनेसम्बन्धी कार्यप्रक्रिया २०७६ बनाएर मंगलबारदेखि कार्यान्वयनमा ल्याउने भएको हो।
सो प्रकृया कार्यान्वयनमा आएपछि धेरै सेवाग्राही लाभान्वित हुने आन्तरिक राजस्व विभागले जनाएको छ।
१० प्रतिशत भ्याट फिर्ता पाउन सरकारले कर लाग्ने रकम अनुसारको सामग्री खरिद गरेको हुनुपर्छ। हाल सरकारले एक हजार रुपैयाँ भन्दा माथिको बिक्रि गर्दा कर लगाउने गरेको छ। त्यस्तै एक लाखसम्मको खरिद गर्दा भ्याट फिर्ता दिइनेछ।
जस्तै कुनै व्यक्तिले एक हजारको सामग्री किनेको छ भने उसले भ्याट बापत १३० रुपैयाँ कर सरकारलाई बुझाउँछ। यदि उसले सो रकम विद्युतीय भुक्तानी मार्फत तिरेमा उसले तिरेको १३० को १० प्रतिशत अर्थात् १३ रुपैयाँ ग्राहकले आफ्नो खातामा फिर्ता पाउने छ।
हालसम्म तीन वटा बैंक मात्र यस प्रणालीमा जोडिएको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ। विभागका महानिर्देशक विनोद बहादुर कुँवरका अनुसार विभागले यसका लागि एक सफ्टवेयर तयार पारेको र सो सफ्टवेयरमा जोडिएका कम्पनीको कार्डबाट भुक्तानी गर्दा मात्र भ्याट फिर्ता हुनेछ।
उनका अनुसार बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रदायक निकायहरुले प्रणालीमा जोडिन आवेदन दिइरहेका छन्।
भ्याट फिर्ताका लागि विभागले विद्युतीय भुक्तानी सम्बन्धी उपकरण माध्यमबाट उपभोक्तालाई कर फिर्ता दिने प्रयोजनका लागि भुक्तानी प्रणाली सञ्चालक र भुक्तानी सेवा प्रदायकहरु विभागको एकीकृत कर प्रणालीमा आबद्ध हुनुपर्नेछ।
यसका लागि बिक्रेताले अनिवार्य विद्युतीय बिजकको प्रयोग गर्नुपर्नेछ। त्यस्तै विद्युतीय भुक्तानी उपकरण सेवाप्रदायकसँग समेत आबद्ध हुनुपर्ने कार्य प्रक्रियामा उल्लेख छ।
साथै कर लाग्ने वस्तु आपूर्ति गरी बैंक खातामा भुक्तानी प्राप्त गर्ने र स्वचालित रुपमा उपभोक्तालाई कर फिर्ता गरेर सबै रकमको हिसाब राख्नुपर्ने उल्लेख छ।
विद्युतीय भूक्तानी अन्तर्गत पेमेन्ट कार्ड, ई–बैंकिङ, मोबाइल बैंकिङ लगायत पर्नेछन्। भुक्तानी गरिसकेपछि भ्याट दाबी गर्न कुनबाट रकम तिरेको हो र पेमेन्ट सिस्टम अपरेटर, पेमेन्ट सर्भिस प्रोभाइडर के हो भन्ने पनि उल्लेख गुर्नपर्ने छ।
मानिसहरुमा विद्युतीय माध्यमबाट रकम भुक्तानी गर्ने बानीको विकास होस् भन्ने हेतुले विद्युतीय भुक्तानीमा १० प्रतिशत भ्याट फिर्ता दिएको विभागले जनाएको छ।