काठमाडौं– पुस शुक्ल पूर्णिमादेखि शुरु भएको एक महिने स्वस्थानी व्रत आज बिहान फूलपाती विसर्जन गरी समापन भएको छ ।
पौष शुक्ल पूर्णिमादेखि नै शुरु गरिएको स्कन्द पुराणअन्तर्गतको केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने क्रम आइतबार बेलुकी नै समापन गरी व्रतालु रातभर जाग्राम बसेका थिए ।
विधिपूर्वक एक महिने व्रत गरेकाले माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, बस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।
उपत्यकाको पूर्वी भेगस्थित शालिनदीमा पुस शुक्ल पूर्णिमादेखि शुरु भएको माधवनारायण व्रत पनि आज बिहान अश्वमेध यज्ञ गरी समापन गरिएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले जनाएको छ । व्रतालुलाई आज भोज खुवाइन्छ।