काठमाडौं– सानेपास्थित आफ्नै निवासमा आज बिहान गम्भीर घाइते अवस्थामा भेटिएकी मुना कार्कीको उपचारका क्रममा मृत्यु भएको छ। मुना नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीकी पत्नी हुन्।
गम्भीर घाइते अवस्थामा अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कार्कीको घरमा काम गर्ने विजय चौधरी भने निवासमै मृत भेटिएका छन्।
ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईका अनुसार चौधरीको शव भेटिएकै स्थानमा कार्की घाइते भेटिएकी थिइन्। चौधरीले झुन्डिएर आत्महत्या गरेको आशंका छ। शवमा कुनै चोटपटक नभेटिएको र लत्रिएको शवमा डोरी बाँधिएको फेला परेको छ।
पूर्वसचिव कार्की बिहान पूजा गर्न पशुपतिनाथ मन्दिर गएको बेला उक्त घटना भएको हो। घरमा रहेकी अर्की कामदार किशोरी कार्की भने पूर्वसचिव कार्कीका छोरालाई स्कुल पुर्याउन गएकी थिइन्।
ललितपुर प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दुर्गा सिंहले घटनाबारे महानगरीय अपराध महाशाखा र ललितपुर प्रहरीले अनुसन्धान थालेको बताइन्।