काठमाडौं– कोरोना भाइरसको संक्रमण फैलिएको चीनको वुहानमा रहेका नेपालीसँग भिडियो च्याट गर्दा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा आइतबार भावुक भए ।
वुहानमा रहेका नेपालीको उद्धारका लागि गुहार माग्न अभिभावकहरु आयोगमा आएपछि अध्यक्ष शर्माले त्यहाँ रहेका डा. गौरव पोखरेलसँग भिडियो च्याट गरेका थिए। ‘हाम्रो अवस्था कमजोर बन्दैछ सर, हामीलाई उद्धारमा सहयोग गर्नुस् । अन्य देशका नागरिकलाई आफ्नो देशको सरकारले लगिसक्यो । तर हामीलाई हाम्रो सरकारले किन वास्ता नगरेको ?’ पोखरेलले शर्मासँग भने ।
शर्माले चीनमा रहेका नेपालीहरुको बारेमा थप जिज्ञासा राखे। ‘हाम्रो होस्टलमा एक सयजना विद्यार्थी थियौं तर अहिले ६ जना नेपालीबाहेक अरु कोही पनि छैनौं । अहिलेसम्म त हामीलाई कुनै समस्या देखिएको छैन तर यही अवस्थामा यहाँ बस्यौं भने जोखिम बढ्दै जान्छ । हामीलाई होस्टेलबाट बाहिर जान पनि दिइएको छैन । यहाँका नेपालीलाई मानसिक तनाव बढी छ । हामीलाई संक्रमण नहुँदै उद्धार गरियोस्,’ पोखरेलले थपे।
चीनमा रहेका नेपालीहरुको आग्रह र अभिभावकहरुको गुनासोपछि मानव अधिकार आयोगले सरकारलाई ध्यानाकर्षण पनि गराइसकेको छ । आफ्नो परिवारका सदस्यको उद्धारका लागि अभिभावकले धेरै सरकारी निकाय धाइसके ।
कहिले उनीहरु स्वास्थ्य मन्त्रालयमा धर्ना बस्छन् त कहिले परराष्ट्र मन्त्रालय पुग्छन् । यसै क्रममा उनीहरु आइतबार मानव अधिकार आयोग पुगेका हुन् । सम्बन्धित निकायले बेवास्ता गरेको अभिभावकको गुनासो छ ।
अभिभावक रवी भट्टराईले आफ्ना भाञ्जाको अवस्थाबारे मानव अधिकार आयोगमा जानकारी गराए । ‘भाञ्जाले एकै दिनमा १० पटकभन्दा पनि बढी फोन गर्छन् । हामीलाई उद्धार गर्ने विषयमा सरकारले के गरिरहेको छ भन्दै अपडेट माग्छन् तर मैले केही जवाफ दिन सकेको छैन । होस्टेल बाहिर कतै निस्कन दिएको छैन, कोठाभित्रै बन्द भएर बस्नुपरेको छ । राम्रो खाना खान पनि पाएका छैनौं, बाथरुमको पानी उमालेर खानुपरेको छ भन्छन् । मैले यताबाट केही गर्न सकेको छैन,’ रवीले भने ।
गत साता नेपाल सरकारले चीनमा रहेका नेपाली विद्यार्थीलाई उद्धार गर्ने बताएपछि छोराछोरीहरु निकै खुसी भएको अभिभावक दिनेश श्रेष्ठले सुनाए ।
‘छोराछोरीहरुले नेपाल आउन पाउने आशामा आफ्ना सबै सामान प्याक गरिसकेका थिए, तर सरकारले हामीलाई ढाँटिरहेको छ । बरु सरकारले ल्याउन सक्दिन भनोस्, हामी आफैं पहल गर्छौं । विदेशी राष्ट्रसँग विद्यार्थी ल्याइदिने वातावरणको लागि आग्रह गर्छौं । घरखेत बेचेरै पैसा जुटाएर भए पनि हाम्रा छोराछोरी ल्याउँछौं,’ श्रेष्ठले भने।
राधा कायस्थकी छोरी कायस्थ पनि चीनमै अध्ययन गरिरहेकी छिन् । हरेक दिन रुँदै आमालाई फोन गर्दै भन्छिन्, ‘होस्टेलले बन्द गरेर कोठाभित्र राखिदिएको छ । नयाँ वर्षमा स्टोर गरेर राखेको खाना पनि सकियो । बाहिरबाट अरुले ल्याइदिएको खाना पनि गेटमा राखेर जान्छन्, त्यो खाना भित्रसम्म ल्याइदिने मान्छे पनि छैन। हामीलाई बाहिर जान पनि निकै डर देखाइएको छ ।’ ‘हरेक दिन छोराछोरीको चित्कार र आँशु देख्दा हामीलाई कस्तो भएको होला ? सरकारले कहिले देख्ने हाम्रो पीडा?’ कायस्थ प्रश्न गर्छिन् ।
गत शनिबार चीनस्थित नेपाली दूतावासले नेपाल जान चाहनेलाई फर्म भराएको थियो । १८० जना नेपाली विद्यार्थीले फर्म भरे । तर त्यसपछि सरकारले चासो नदिएको अभिभावकको गुनासो छ । ‘छोराछोरीलाई अहिलेसम्म संक्रमण भएको छैन । कोरोना नलाग्दै नेपाल ल्याइदिनुुुस्, उनीहरुलाई बचाउनुस्,’ अभिभावकको सामूहिक माग छ ।
‘झण्डै ३ हप्तादेखि बन्द कोठामा बन्दीको जस्तो जीवन जिउन परिरहेकाले उनीहरुलाई खानबस्न समस्या हुनुका साथै आत्तिएर मानसिक तनाव हुन थालेको छ, तत्कालै फिर्ता ल्याइयोस्,’ अभिभावक भगवतीलाल कक्षपतिले भने।