काठमाडौं- कीर्तिपुरका पूर्णमान महर्जनको मोबाइलमा महानगरीय ट्राफिक महाशाखाबाट घण्टी बज्यो। फोनमा भनियो, ‘तपाईंले लेन मिच्नुभएको रहेछ, चाँडो महाशाखामा आएर सम्पर्क गर्नुहोला।’
यो सुनेपछि उनी अक्क न बक्क भए। आफूले कहाँ कहिले लेन मिचेको छु भन्ने थाहा नै थिएन। आफूले गल्ति नै गरेको छैन, प्रहरीले किन बोलाएको होला भनेर सोच्दै उनी आइतबार ट्राफिक महाशाखा पुगे।
प्रहरीले लेन मिचेको कुरा भनेकोमा उनलाई विश्वास थिएन। जब महाशाखामा आएर सिसिटिभी फुटेज हेरे, अनिमात्र उनले लेन मिचेर मोटरसाइकल चलाएको पत्तो पाए।
कुरा माघ १३ गते सोमबारको हो। पूर्णमान टेकुबाट त्रिपुरेश्वरतर्फ आइरहेका थिए। निकै लामो जाम थियो। लेनको छेउछेउ भएर अगाडि बढे।
एक्कासि अगाडिको मोटरसाइकल दायाँतिर च्यापेर अघि बढ्यो। त्यही मोटरसाइकलमा आफ्नो मोटरसाइकल ठोक्किने जस्तो देखेपछि पूर्णमानले दायाँतिर च्यापेर मोटरसाइकल चलाएका थिए।
‘म त पूरै लेन च्यापेर दायाँतिर गैसकेछु तर, त्यो कुरा सिसिटिभी फुटेज हेरेर मात्र थाहा भयो,’ पूर्णमानले भने, ‘लेन मिचेर गलत साइडमा गएको कुरा त्यो बेला त अनुभव नै भएन।’
‘ट्राफिक नियमको धेरै ख्याल गरेर सवारी चलाउने मान्छे हुँ,’ पूर्णमानले दाबी गरे,‘ ०४८ सालदेखि मोटरसाइकल चलाउँदै आएकोमा पहिलोपटक ट्राफिक कारवाहीमा परियो।’ उनले लेन मिचेको ५ सय जरिवाना पनि तिरे र एक घण्टा ट्राफिक सचेतना कक्षासमेत लिए।
डिल्लीबजारका विवेक भण्डारीलाई मोटरसाइलबाट घट्टेकुलो जानुपर्ने थियो। त्यसका लागि रुट भनेको ज्ञानेश्वर–चारखाल–मैतिदेवी हुँदै जानुपर्ने हो। तर, उनी चारखालबाट कालिकास्थानतर्फ लागे, जुन एकतर्फी रुट हो।
ट्राफिक प्रहरी छैन कसले देख्ला र भन्ने सोचेर एकतर्फी रुटमा मोटरसाइकल चलाएका भण्डारीलाई सिसिटिभीले भने कैद गरिहाल्यो। ‘छोरीको आँखाको चेकजाँच गर्नुपर्ने भएकाले हतारमा थिएँ,’ आइतबार महाशाखामा भेटिएका भण्डारीले भने,‘ ट्राफिक प्रहरी छैन कसले पो देख्छ भनेर एकतर्फी रुटमा मोटरसाइकल चलाएको कारबाहीमा परिहालें।’
ट्राफिक प्रहरी नभए पनि सिसिटिभीले खिच्ने हुँदा आफू निकै सचेत बनेको उनले सुनाए। उनले ट्राफिक प्रहरीको प्रशंसासमेत गरे।
पूर्णमान र विवेक जस्तै चालू आर्थिक वर्षको साउनदेखि शनिबारसम्म ट्राफिक नियम उल्लंघन गरेर सवारी साधन चलाउने ९ हजार ६ सय १८ जना सवारी चालकलाई सिसिटिभी फुटेजका आधारमा ट्राफिक प्रहरीले कारवाही गरेको छ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीले उपत्यकाभित्रका सवारी साधनको सिसिटिभी निगरानी गर्छ। ट्राफिक नियम उलंघन गर्ने सवारी साधनको नम्बर टिपेर रानीपोखरीले महाशाखालाई पठाउँछ। महाशाखाले उक्त नम्बर यातायात कार्यालयमा पठाएर सम्बन्धित सवारी धनीको मोवाइल नम्बर पत्ता लगाउँछ।
महाशाखाका प्रहरी सहायक निरीक्षक शंकर पाण्डेले ट्राफिक नियम उलंघन गरेको मितिदेखि सवारी धनी पत्ता लगाएर जरिवाना तिराउँदासम्म १० देखि १५ दिनसम्म लाग्ने जानकारी दिए।
महाशाखाका प्रमुख प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सिसिटिभी फुटेजका आधारमा ट्राफिक कारबाही गर्ने कार्यले दुर्घटनामा निकै कमी आएको बताए। त्यस्तै दुर्घटना न्यूनीकरण गर्न सिसिटिभीबाट निगरानी गरिनुका साथै ट्राफिक लाइट जडान गर्ने कार्य भइरहेको एसएसपी ढकालले बताएका छन्।
उनले जथाभावी यात्रु चढाउने र ओराल्ने, जेब्रा क्रसिङमा नरोक्ने, तीव्र गतिमा सवारी चलाउने, लेन मिच्ने, ढोका खुल्ला राखेर सवारी चलाउनेलाई सिसिटिभी फुटेजका आधारमा कारवाही गरिएको जानकारी दिए।
‘ट्राफिक प्रहरी नहुँदा पनि सिसिटिभी फुटेजका आधारमा कारवाही हुन्छ भन्ने चेतना बढेको छ,’ श्रेष्ठले भने, ‘सिसिटिभीको संख्या अझै बढाउन जरुरी छ।’
महाशाखाले आइतबार पत्रकार सम्मेलन गर्दै चालू आर्थिक वर्षको ६ महिनामा ३ हजार ८ सय ४१ टिपर चालकलाई कारवाही गरेको जानकारी दिएको छ।
झल्लर र फोकस लाइटको प्रयोग गर्ने र ओभरलोड बोक्ने, तीव्र गतिमा चलाउने चालकलाई कारवाही गरिएको महाशाखा एसएसपी भिम ढकालले जानकारी दिए। त्यस्तै पाँच हजार भन्दा बढी टिपरमा नम्बरप्लेट स्पष्ट देखिने गरी राख्न लगाइएको छ।