चितवन- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार पक्षपाती भएको बताएका छन्।
उनले मुलुकका सबै नागरिक बराबर हुन् भन्ने उद्देश्यको विपरीत पक्षपाती भएको आरोप लगाएका हुन्।
चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता पौडेलले सरकार समानताको सिद्धान्तविपरीत अघि बढेको बताए।
उनले नेकपा नेतृत्वको सरकारले सबै कुरा हातमा लिएको, राज्यका संवैधानिक अंगहरुलाई आफ्नो छायाँ बनाएको र अख्तियारलाई आफ्नो नियन्त्रणमा राखेको भन्दै यसले लोकतन्त्रलाई कमजार बनाएको टिप्पणी गरे।
नेता पौडेलले प्रदेश सरकारले गरेको निर्णय माथि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गर्न नपाउने गरी गलत मनसायबाट विधेयक ल्याउन लागेको बताए।
अर्को प्रसंगमा पौडेलले पार्टीभित्र केही समय भएको वैचारिक द्वन्द्व अहिले समाधान भएको दाबी गरे।
आफू पार्टीभित्र विकृतिको अन्त्य गर्नुपर्छ भन्ने पक्षमा रहेको उनको जिकिर छ।
पौडेलले भने, ‘पार्टीभित्र धेरै ठाउँमा विकृति विसङ्गति छ। त्यसको अन्त्य हुनुपर्छ।’