काठमाडौं– चीनमा रहेका नेपाली विद्यार्थीको उद्धार गर्न आग्रह गर्दै अभिभावकहरु राष्ट्रिय मानव अधिकार आयोगमा पुगेका छन् । कोरोना भाइरसको संक्रमण भएको दुई महिना पुग्न लाग्दा समेत नेपाल सरकारले नेपाली विद्यार्थी फर्काउने विषयमा चासो नदिएको भन्दै अभिभावकले आयोग गुहारेका हुन् ।
अभिभावकसँग आयोगका अध्यक्ष अनुपराज शर्माले स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयलाई नेपालीहरुको तत्काल उद्धारको अपिल गर्ने आश्वासन दिए ।
स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयलाई समेत ध्यानाकर्षण गराउँदा वास्ता नगरेको अभिभावकको गुनासो छ । खगेन्द्र कुँवरले भने, ‘सरकारले विद्यार्थीलाई ल्याउने वातावरण बनाइदिनुपर्छ । सरकारले किन विद्यार्थी ल्याउने मिति तोक्न नसकेको ? नेपाल सरकारले विद्यार्थी ल्याउन आनाकानी गर्छ भने हामीले अन्तराष्ट्रिय नियोगलाई गुहार्न नपरोस् ।’
चीनमा रहेका विद्यार्थीहरु विश्वविद्यालयको होस्टेलमै थुनिन बाध्य भएको भन्दै उनीहरुलाई चाँडो भन्दा चाँडो नेपाल ल्याउन अभिभावकले गरेका छन् । अभिभावक उमेश बहादुर सिंहले भने, ‘सरकार सुतेको छ । हाम्रा आफन्त भोकभोकै त्रासमा छन् । सरकारले यहि मितिमा ल्याउँदैछौ भनेर किन स्पष्ट जवाफ दिन मान्दैन ?’