काठमाडौं। हालैमात्र जनता बैंकलाई गाभेर मुलुकको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको ग्लोबल आइएमइ बैंकले एक अर्ब ६८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले जारी गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बेंकले गत वर्षको सोही अवधिको तुलनामा ४५ करोड ६५ लाख रुपैयाँ बढी हो।
यो जनता बैंकसँग मर्जरपछिको दुवै बैंकको एकीकृत नाफा हो। यस अवधिमा बैंकको खुद आम्दानी ३ अर्ब ५४ करोड रहेको छ भने सञ्चालन मुनाफा २ अर्ब ३६ करोड ९० लाख पुगेको छ ।
दोस्रोे त्रैमासमा बैंकको जगेडा कोषमा ७ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । जगेडा कोष हेरेर बैंक कति सशक्त छ भन्ने विश्लेषण गर्न सकिन्छ । त्यस्तै बैंकको सेयरधनी कोषमा एक अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ५३ पैसा कायम भएको छ भने बैंकको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २३ पैसा रहेको छ ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकको कूल निक्षेप १ खर्ब ९७ अर्ब ४१ करोड रुपैयाँ १ खर्ब ९० अर्ब ५२ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।
जनता बैंकसँग मर्ज भएपछि बैंकको निष्कृय कर्जा भने केही बढेको छ। पहिलो त्रैमासमा ०.७५ प्रतिशत निष्कृय कर्जा रहेको बैंकको हाल १.२० प्रतिशत पुगेको छ । हाल बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड रहेको छ ।