काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक माघ २८ गते मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ। यसअघि दुईवटा बैठक कांग्रेसले अवरुद्ध गरेको थियो भने एउटा बैठक सूचना टाँसेर स्थगित भएको थियो।
आफ्नो पार्टीका उपसभापति विजयकुमार गच्छदारलाई पूर्वाग्रहपूर्ण रुपमा मुद्दा चलाइएको भन्दै कांग्रेसले सदन अवरुद्ध गरेको हो। यसै विषयलाई लिएर कांग्रेसले सडक आन्दोलन पनि सुरु गरिसकेको छ।
सभामुख अग्नि सापकोटाले आजको बैठक बैठक सुरु भएको जानकारी दिनासाथ कांग्रेस सांसदहरु उठेर अवरोध गरेका थिए । सापकोटाले कांग्रेसका सांसदहरुले उठाएको विषय अदालतमा प्रवेश भइसकेको हुँदा सदन सुचारु गर्न दिन आग्रह गरेका थिए।
तर, कांग्रेस सांसदहरुले आफूहरुले बोल्न पाउनुपर्ने माग राखेका थिए। यसअघिका बैठकमा बोल्ने समय दिएका सभामुखले आज भने कसैलाई बोल्न नदिई बैठक स्थगित गरिदिए।