सिन्धुली- दुधौली नगरपालिका–४ स्थित डकाहा चकमके सडकखण्डको टोड्केमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । १३ घाइते भएका छन् ।
मृत्यु हुनेमा दुधौली नगरपालिका–१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।
उनका अनुसार दुधौली नगरपालिका वडा नं १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको ट्रयाक्टर अचानक ब्रेक फेल भई शनिबार दिउँसो दुर्घटना भएको हो ।
दुर्घटनामा दुधौली नगरपालिका वडा नं १ गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
स्थानीय ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्र्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका थिए ।
घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।