काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
विष्णु पौडेल र कुमार रेग्मीले किनेको बालुवाटारको सरकारी जग्गा सुटुक्क सरकारका नाममा गरिएको, एमसीसी पारित गर्न भइराखेको कुटनीतिक पहल, बजारमा मच्चिएको लुट, मन्त्री, सांसददेखि मेयरसम्म ठेकेदार रहेको विषयलाई आजका पत्रपत्रिकाले मुख्य समाचार बनाएका छन् ।
नेकपा महासचिव विष्णु पौडेल र सर्वोच्चका न्यायाधीश कुमार रेग्मीले किनेको वालुवाटारको सरकारी जग्गा सुटुक्क सरकारका नाममा नामसारी गरेको विषयलाई आजको नागरिक दैनिकले मुख्य समाचार बनाएको छ । शुक्रबार सबै काम हतार हातरमा सकिएको छ । शुक्रबार साँझसम्म जसरी पनि यो काम सक्न निर्देशन गरिएको समाचारमा उल्लेख छ ।
नागरिकले लेखेको छ- ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको तेस्रो दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलका छोरा नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सुटुक्क सरकारका नाममा नामसारी भएको छ।
पौडेल र रेग्मीको अधिकृत वारेसबाट बालुवाटारको जग्गा शुक्रबार सरकारको स्वामित्वमा फिर्ता ल्याइएको हो। मालपोत कार्यालय डिल्लीबजारका प्रमुख गोविन्दप्रसाद अधिकारीले पौडेल र रेग्मीको नाममा रहेको बालुवाटारको जग्गा सरकारको स्वामित्वमा फिर्ता गरिएको स्वीकार गरे ।
‘पौडेल र रेग्मीको नाममा रहेको ललितानिवासको जग्गा शुक्रबार सरकारको स्वामित्वमा फिर्ता आएको छ,’ अधिकारीले भने, ‘मालपोत कार्यालय डिल्लीबजारबाट यस विषयमा निर्णय भएको छ।’ उनले यसबारे थप बोल्न चाहेनन्।
अख्तियारले ललितानिवास प्रकरणमा बुधबार १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दा पौडेल र रेग्मीलाई भने उन्मुक्ति दिएको थियो। सरकारलाई जग्गा फिर्ता गर्न मन्जुर रहेको कारण देखाउँदै अख्यितारले उनीहरूविरुद्ध मुद्दा दायर गरेको थिएन।
यस्तै नागरिकले सत्तारुढ पार्टीकै केहि नेताहरु एमसीसीको विपक्षमा उभिएपछि यसलाई पारित गर्न कुटनीतिक पहल सुरु भएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
कान्तिपुर दैनिकले आफ्नै कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी अघि बढ्छ भनी दिएको अभिब्यक्तिलाई मुख्य समाचार बनाएको छ ।
यस्तै उसले आफ्नो डेब्यु खेलमा नै कुशल मल्लले विश्व कीर्तिमान राखेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने बजारमा हरेक सामान महँगिएको विषयलाई मुख्य समाचार बनाएको छ । उसले बजारमा लुट शीर्षकमा खबर लेख्दै पुषमहिना भन्दा माघको अन्तिम साता बजार देखिएको महँगीको फेहरिस्त प्रस्तुत गरेको छ ।
आजको नयाँ पत्रिकाले भने मन्त्री, सांसद र मेयरहरु नै ठेकेदार रहेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले सांसद मेयर लगायत २०८ जनप्रतिनिधि ठेकेदार शीर्षकमा खबर छापेको छ ।