काठमाडौं– एक सुन व्यापारीलाई तर्साएर ४ लाख २० हजार रुपैयाँ घुस लिएको लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत एक प्रहरी हवल्दारसहित २ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) ले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा प्रहरी हवल्दार बावुराम घिमिरे र अर्का सुन व्यापारी राजकुमार सुलाकार रहेका छन्। घिमिरेले आफू सिआईबीमा कार्यरत प्रहरी भएको र पक्राउ पर्ने सूचीबाट नाम हटाईदिने भन्दै काठमाडौंका एक सुन व्यवसायीबाट घुस लिएको सिआईबीका प्रवक्ता प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए।
‘म सिआईबीमा कार्यरत प्रहरी हुँ, तपाईको नाम सिआईबीले पक्राउ गर्नुपर्ने मान्छेहरुको सूचीमा छ भन्दै घुस लिएको रहेछ,’ पाण्डेले भने, ‘पक्राउ पर्ने सूचीमा नाम नै नभएको व्यापारीलाई तर्साएर घुस लिएको अनुसन्धानबाट खुलेको छ।’
पाण्डेका अनुसार घिमिरे र सुन व्यवसायी सुलाकारले योजना बनाएर सुन व्यवसायीलाई ठगेका हुन्। ‘घिमिरेसँग मिलेर सुलाकारले ती व्यापारीलाई पैसा दिन उक्साउने गरेको खुलेको छ,’ पाण्डेले भने, ‘उता घिमिरेलाई पैसा माग्न सल्लाह दिने, यता व्यापारीलाई पैसा दिन उक्साउने गरे छन्।’
अख्तियारको कम्प्युटर शाखामा कार्यरत घिमिरेले सुन व्यापारीसँग २५ लाख रुपैयाँमा डिल गरेर ४ लाख २० हजारमा कुरा मिलेको सिआईबीले जनाएको छ। उनीहरुलाई सिआईबीले काठमाडौं जिल्ला अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ।