काठमाडौं - शहीद स्मारक 'ए' डिभिजन लिगमा आज तीन खेल हुँदैछन्।
आज हुने पहिलो खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबको सामना गर्ने छ। जारी लिगमा १० खेल खेल्दै १ जित ४ बराबरी र ५ पराजय भोगेको हिमालयन शेर्पा क्लब अंकतालिकाको १२ औं स्थानमा छ। आजको खेलमा जित निकालेर ११ औं स्थानमा उक्लने शेर्पा क्लबको लक्ष्य रहनेछ।
अर्कोतर्फ अघिल्लो खेलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै १० औं स्थानमा उक्लिएको च्यासल युथ क्लब स्पस्ट ३ अंक जोड्दै छैटौं स्थानसम्म पुग्ने सम्भावना बनाउन चाहन्छ। च्यासलले जारी लिगमा १० खेल खेलेकोमा ३ जित, ३ बराबरी र ४ पराजय भोगेको छ। खेल आज दिउँसो सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साढे ११ बजे सुरु हुनेछ।
आजै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबको सामना गर्ने छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ३ बजे सुरु हुने खेलमा जवलाखेल र फ्रेन्ड्स भिड्न लागेका हुन।
तालिकाको सातौं स्थानमा रहेको जावलाखेल जित निकाल्दै शीर्ष पाँचमा उक्लने दाउमा हुने छ। १० खेलमा ४ मा जित र ३ मा बराबरी खेलेको जावलाखेलले जित निकालेको खण्डमा उसको खातामा १८ अंक हुनेछ। हाल पाँचौं स्थानमा रहेको नेपाल पुलिस क्लबको १७ अंक छ।
नवौं स्थानमा रहेको फ्रेन्ड्स क्लब पनि आजको खेलमा जित सुरक्षित गर्दै स्थान सुधार गर्ने दाउमा हुनेछ। १० खेलमा ४ जित र २ बराबरी खेलेको फ्रेन्ड्स को १४ अंक छ। उसले जित निकालेमा १७ अंक रहेको पुलिससँग गोल अन्तरका आधरमा स्थान निर्धारित हुनेछ।
लिगको यो सिजनमा आज पहिलोपल्ट ३ खेल हुँदैछन्। आज हुने तेस्रो खेल सशस्त्र प्रहरीको हलचोकस्थित मैदानमा ३ बजे नै सुरु हुनेछ।
सो खेलमा मनाङ मर्स्याङ्दी क्लबले न्युरोड टिम (एनआरटी) को सामना गर्ने छ।
साविक विजेतासमेत रहेको मनाङ अंकतालिकामा १९ अंकसहित चौथो स्थानमा छ। आजको खेलमा जित निकाल्न सके मनाङ तालिकाको तेस्रो स्थानमा उक्लने छ। तेस्रो स्थानमा रहेको थ्री स्टार क्लबको २० अंक छ।
एनआरटी अघिल्लो सिजन अंकतालिकाको सबैभन्दा पुछारमा रहेको टोली हो भने मनाङ शीर्षस्थानको टोली हो। एनआरटीले आज जित निकालेको खण्डमा पाँचौं स्थानमा उक्लने छ।