काठमाडौं- सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार नगर्ने भने पनि रोकिन नसकेको भन्दै निराशा व्यक्त गरेका छन्।
उनले सरकारले भ्रष्टाचार गर्दैनौँ र गर्न दिँदैनौँ भने पनि जनताले त्यस्तो अनुभूति गर्न नपाएको भन्दै निराशा व्यक्त गरे।
नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रीय समितिको सपथ ग्रहण कार्यक्रममा प्रचण्डले अहिले बेस्सरी गर्यौं भने पनि जताततै देखिएको निराशाले यहाँ केही चिज ठिक नभइरहेको देखाएको बताए।
प्रचण्डले भने, ‘हामीले भन्न त भनेका छौं भ्रष्टाचार गर्दैनौं र गर्न पनि दिँदैनौं, यो घोषणा आफैंमा राम्रो कुरा हुँदै हो। तर राज्यको समग्र व्यवहारमा स्थानीय तहदेखि संघसम्म भ्रष्टाचार रोकिन थालेको छ भन्ने अनुभूति जनताले गरे कि गरेनन् भन्यो भने ग्राफचाहिँ राम्रो आउँदैन।’
अध्यक्ष प्रचण्डले कर प्रणाली जनताको पक्षमा भन्दा जनताको विरोधीको पक्षमा हुन थाल्यो कि क्या हो भन्ने जस्तो देखिएको बताए। उनले भने, ‘जसलाई उत्थान गर्नुपर्ने हो त्यसलाई सुविधा दिनतिर केन्द्रित भयौं कि त्यसले झन् असुविधा महसुस गरेर कता–कता उकुसमुकुस भएजस्तो स्थिति छ।’
उनले राज्यमाथि मध्यम वर्गको प्रभाव र हस्तक्षेप बढाएर लैजान र तल्लो वर्गलाई परिवर्तनको प्रतिफल पुग्यो भन्ने अनुभूत गराउन तर्फ उद्योग व्यवसायीको ध्यान जान जरुरी रहेको बताए।
कार्यक्रममा प्रचण्डले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकमा सामुहिकता र अन्तर्घुलनको एउटा नयाँ ‘फ्युजन’ प्रस्तुत भएको बताए।